सुरेन्द्र पाण्डे र भीम रावलको अगुवाइमा यसरी दर्ता भएको थियो आयोगमा छुट्टै दल
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि पहिलो पटक गरेको पत्रकार सम्मेलन पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई उक्साएर बिचमा साथ् छाडेका नेयाहरूले पहिले नै निर्वाचन आयोगमा पार्टी दर्ता गरिसकेको खुलासा गरेपछि अहिले सामाजिक संजालमा यसको बहस भैरहेको छ ।
उनले पत्रकार सम्मेलनमा संकेत गरेका नेताहरू सुरेन्द्र पाण्डे र भीम रावल हुन् । उनीहरूले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नका लागि विद्यार्थी नेतालाई लगाएका थिए । जतिबेला उनीहरू एमाले अध्यक्षविरुद्ध सबैभन्दा बढी आक्रामक थिए । ओलीलाई देखाइदिने भन्दै एउटाले पार्टीको दस्तावेज तयार गर्ने र अर्काले देशभर समानान्तर कमिटि बनाउने काम गर्थे ।
तत्कालीन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय विद्यार्थी नेता जीवन राईले गत जेठ ९ गते चुनाव चिह्न कलमसहित नेकपा एकीकृत नामको दल दर्ता गर्न निवेदन दिए । उनले अन्तिम अवस्थामा नेपाल र खनाललाई धोका दिएका नेता सुरेन्द्र पाण्डेको दबाबमा नयाँ दल दर्ता गरेका थिए ।
एमालेको विवाद उत्कर्षमा पुग्दै गर्दा चैत ४ र ५ गते नेपाल-खनाल समूहले राष्ट्रिय भेलाको आयोजना गरेको थियो । उक्त भेलाले एमालेमै संघर्ष गरेर अध्यक्ष ओलीलाई हटाउने र नसकिए नयाँ दलमार्फत राजनीति गर्ने निष्कर्ष निकाल्यो । त्यसको २ महिनापछि जीवन राईको नेतृत्वमा नेकपा एकीकृत आयोगमा दर्ता गरिएको हो ।
‘नयाँ दल दर्ताका लागि सुरेन्द्र पाण्डेले निरन्तर दबाब दिनुभएको थियो,’ नेकपा एकीकृतका एक सदस्यले भने, ‘अरे बाबा छिटो गर्नुपर्यो, यति एउटा दल दर्ता गर्न पनि नसक्नेले केको विद्यार्थी राजनीति गर्नु ? तिमीहरूले सक्दैनौ भने म आफैं दर्ता गर्न जान्छु भनेर सुरेन्द्र कमरेडले नै अत्याएको अत्यायै हुनुहुन्थ्यो ।’
नयाँ दलको विधान भीम रावलको सहयोगमा तयार पारिएको स्रोतको दाबी छ । रावलले उक्त दलको विधान आफ्नो झोलामा हालेर हिड्ने गर्थे । जेठ २ गते नेपालको पक्षबाट रावलले कार्यदलको नेतृत्व गरेका थिए । कार्यदलले पार्टी एकताको प्रयास गरिरहँदा रावलले यता नयाँ दलको विधान पनि सँगसँगै तयार गरिरहेका थिए ।
पार्टी दर्ता गर्न विद्यार्थी र युवा नेताहरूलाई हदैसम्मको दबाब दिएका रावल र पाण्डेलगायत यसअघि नेपाललाई साथ दिएका १० स्थायी कमिटी सदस्यले अन्तिममा अध्यक्ष ओलीलाई साथ दिए । अहिले राईले दर्ता गरेको पार्टी यता न उता भएको छ ।
राईले दर्ता गरेको पार्टीको अध्यक्ष आफै थिए भने उपाध्यक्ष कास्कीकी कल्पना गुरुङ र महासचिवमा विनोदकुमार खुलाल थिए । सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । अहिले तीमध्ये धेरै पदाधिकारी लाखापाखा लागिसकेका छन् ।