सुरेन्द्र पाण्डेमाथि अर्को कारबाही
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई साधारण सदस्य नरहने गरी ६ महिनाका लागि निलम्बन गरिएको केहि दिनमै प्रधानमन्त्री केपी शर्मा ओलाले उनीमाथि अर्को कारबाही गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएका छन् । एमालेमा समानान्तर गतिबिधि गरेको भन्दै केहिदिन अगाडी उनीसहित चार शिर्ष नेतामाथि कारबाही गरिएको थियो ।
संसदको ठूलो राजनीतिक दलको हैसियतमा संसदीय समितिमा प्रतिनिधित्वको माग राखेको नेकपा एमालेले समिति सदस्यहरू फेरबदल गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई सदस्य हेरफेरबारे जानकारी गराएका हुन् । एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाउँदै खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई सिफारिस गरेको छ ।
यस्तै राज्य व्यवस्था समितिमा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम पठाइएको छ भने घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि तथा जलश्रोत समितिमा पठाइएको छ ।