सुरेन्द्र पाण्डेको आरोप: ओलीसहित केही व्यक्तिले 'माइन्युट' चोरेर भागे - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

सुरेन्द्र पाण्डेको आरोप: ओलीसहित केही व्यक्तिले ‘माइन्युट’ चोरेर भागे



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा फुटेको नभएर केही मानिसहरु माइन्युट चोरेर भागेको तर्क गरेका छन् । ‘कसैले माइन्युट चोरेर लग्यो र मेरो पार्टी भन्यो भने के हुन्छ ? नेकपामा यस्तै भइरहेको छ ,’ उनले भने ।

नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई पार्टीको माइन्युट र छाप छ भन्दैमा पार्टी आफ्नो हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरे ।

आइतबार भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ताको दम्भले माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो हुन्छ भनेर तर्क गर्नु मुर्खता सिवाय अरु केही नभएको बताए । नेकपा पार्टी फुटेको नभै ओलीसहितका केही मानिस माइन्युट चोरेर भागेको पाण्डेले तर्क गरे ।

नेकपाका २५ प्रतिशत केन्द्रीय सदस्य बाहेक ७५ प्रतिशत केन्द्रीय सदस्य अर्थात् ३७७ जनाभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समुहमा रहेको उनको दावी थियो ।

उनले नेकपा पार्टी फुटेको नभै केही अधिनायकवादीहरुले मति बिग्रिएर बाटो बिराएको तर्क गरे । उनले आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दाबी भेलामा सहभागी नेता कार्यकर्ताहरुलाई प्रस्तुत गरे ।

निर्वाचन आयोगमा दुई अध्यक्षसहित बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएकाले निर्वाचन आयोगले आफूहरुलाई नै वैधानिकता दिने पाण्डेको भनाई छ । ओलीले शक्तिको बलमा आफूअनुकुल निर्णय गराए भने जनताले सडकबाट ओलीको सरकार ढाल्ने उनको तर्क थियो ।