राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा खतरा बढेको भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी थपिएको छ । संसद विघटन गरेपश्चात ओलीमाथि सुरक्षा थ्रेट बढेको सुरक्षा निकायको विश्लेषणका आधारमा सुरक्षा बढाइएको हो ।

पहिले प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए भने अहिले झन्डै २ सयको संख्तामा सुरक्षाकर्मी थपिएको छ ।

विप्लव समूहले पनि उपस्थिति देखाउन कुनै गतिविधि गर्न सक्ने भएकाले सुरक्षा निकायलाई सतर्क राखिएको छ । पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पनि सुरक्षा चुनौति रहेको विश्लेषण गर्दै प्रहरीले सुरक्षा बढाएको छ ।

ओली समूहमा गएका पूर्वमाओवादी नेता पनि निशानामा रहेको बताइएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई चितवन र खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको थियो । त्यसैले मन्त्री सहभागी हुने कार्यक्रम र हिँडडुल हुने स्थानमा विशेष सतर्कता अपनाइएको छ ।

ओलीको कदमलाई गैरसंवैधानिक भन्दै पार्टीभित्रै र बाहिरबाट आलोचना भइरहेका बेला आगामी दिन ढुंगामुढासमेत गरिन सक्ने विश्लेषण सुरक्षा निकायको छ ।