प्रधानमन्त्रीले डाके राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । मंगलबार बिहान बैठक डाकिएको बताइएको छ ।
बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको हो । राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्ने गर्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अध्यक्ष परिषद् प्रमुख तथा प्रधानमन्त्री हुने गर्छन । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ ।
बैठक डाकिएपनि एजेन्डा भने अझै दिइएको छैन । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।
यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए ।