प्रचण्ड निवास खुमलटारमा सुरक्षा अलर्ट
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रधानमन्त्री ओली पहिलो पटक खुमलटार जान लागेकोले खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको हो ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओली केही बेरमा दाहाल निवास खुमलटार आउन लागेको सूचना प्राप्त भएको जानकारी दिए ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार जान लागेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए।
गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो। पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् ।