भारतले भूमि मिचेको विषयमा प्रवेश नै नगरी नेपाल–भारत सीमा सुरक्षा बैठक सकियो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

भारतले भूमि मिचेको विषयमा प्रवेश नै नगरी नेपाल–भारत सीमा सुरक्षा बैठक सकियो



काठमाडौं । सीमा सुरक्षाको जिम्मा लिएका दुई देशका सुरक्षा निकायको बैठक भारतले नेपालतर्फको भूमि मिचेको विषयमा प्रवेश नै नगरी सकिएको छ । सीमा क्षेत्रमा देखिएको भूमि विवादमा बैठक प्रवेश नै नगरी सामान्य समस्यामा मात्रै छलफल भएको छ ।

भारतले नेपालतर्फको भूमि मिचेको विषयमा प्रवेश नै नगरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्यलाई बढाउने विषयमा मात्रै छलफल भएर बैठक सकिएको हो । सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बल ‘एसएसबी’बीच सहमति गरेर यस वर्षको सुरक्षा व्यवस्थापन सम्बन्धी बैठक विहिबार सकिएको थियो ।

तर नेपालको मिचिएको भूमिबारे दुई देशमा प्रहरी प्रमुखबीच कुनै छलफल भएन । नेपालको तर्फबाट सशस्त्र प्रहरी र भारतको तर्फबाट सीमा सुरक्षा बल सीमा क्षेत्रको सुरक्षाका लागि खटिएका छन् । हरेक वर्ष जस्तै हुने यसप्रकारको बैठकमा यस वर्ष भारतको नयाँ दिल्लीमा भएको थियो । यसभन्दा दुई वर्ष अघि नेपालको पोखरामा भएको थियो ।

गत वर्ष भने कोभिड –१९का कारण बैठक बस्न सकेको थिएन । बैठकमा दुई महिना अगाडी दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन फुस्काइदिँदा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको विषयमा बैठकमा कुनैपनि चर्चा नभएको जनाइएको छ । उक्त घट्नामा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट नै पठाएको र त्यो विषय कूटनीतिक तहकै कुरा भएकाले त्यस विषयमा सुरक्षा फौजको बैठकमा कुरा नउठाइएको सशस्त्र प्रहरीका अधिकारीहरुले जनाएका छन् । भारतीय पक्षले पनि त्यस विषयमा केही कुरा राखेका थिएन ।

भारतको नयाँ दिल्लीमा सशस्त्र र एसएसबीको तीन दिनसम्म बसेको बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति भएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपालको भूमि मिचिएको विषयमा कुनै पनि प्रकारको छलफल नभई बैठक टुंगिएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ ।

एसएसबीको आयोजनामा दुई देशका सुरक्षा बलका प्रमुख अधिकारीबीच पाँचौ नेपाली–भारत कोअर्डिनेसन बैठक दिल्लीमा भएको थियो ।फिल्डमा खटिने टोलीदेखि माथिल्लो तहसम्मका अधिकारीहरूबिच नियमित समन्व्य राख्ने सहमति भएको थियो । हरेक तहका कमाण्डरले आफ्ना समकक्षीसँग सीमा अपराध नियन्त्रण, आम मानिसलाई सहजता प्रदान गर्ने सम्बन्धमा नियमित छलफल गर्ने विषय दुवै सुरक्षा बलका प्रमुखहरूले जोड दिएका छन् । यो पाचौ बैठक हो ।

बैठक २०७५ साउन २३ र २४ मा भारतको नयाँ दिल्लीमा बसेको थियो । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । त्यसपछि नेपालको पोखरामा चौथो बैठक २०७६ मंसिर ४ र ५ मा भएको थियो । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गरेका थिए ।

बैठकको समापनमा दुवै उच्च अधिकारीहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका थिए । सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको समाधन आपसी सहकार्यमा निस्तेज पार्ने, आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै एकले अर्को पक्षलाई प्रदान गर्ने, आम नागरिकलाई सहुलियत प्रदान गर्न बढी मानिसको ओहोरदोहर हुने सीमा क्षेत्रमा दुवै पक्षले हेल्प डेस्कको स्थापना गर्ने, अवैध तरिकाले गरिने मानव ओसार पोसारलाई कडाइका साथ नियन्त्रण गर्ने, भारतमा कार्यरत गैर सरकारी संस्थाहरूसँग पनि समन्वय गर्ने लगायतका विषय सम्झौतामा समेटिएको छ । त्यस्तै, खुला सीमाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिकहरु अवैध तरिकाले एक अर्को मुलुकमा आउजाउ गर्ने भएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने विषय उल्लेख छ ।

बैठकमा भारतीय पक्षले नेपालमा आतंक गतिविधि गर्ने व्यक्तिहरु नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यसमा विशेष सहयोगको अपेक्षा राखेको छ । त्यस्तै, नेपालले पनि विभिन्न तेस्रो मुलुकका व्यक्ति भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रुपमा बस्ने भएकाले त्यसमा एसएसबी चनाखो भइदिनु आग्रह गरेको छ । नक्कली नोट, लागूऔषध, तस्करीलगायतका अन्य अपराधजन्य कार्यलाई नियन्त्रण गर्न दुवै पक्षबीच सहकार्यलाई बढाउने समझदारी भएको छ ।

नेपाल–भारत सीमा करिब १ हजार ८ सय ८० किमि लम्बाइमा फैलिएको छ । ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म भारतसँग सीमा छुट्याउने ८ हजार ५ सय ५३ सीमा स्तम्भ ‘पिलर’ छन् । ती सबै सीमा स्तम्भको सुरक्षा जिम्मा दुई देशका सुरक्षा अधिकारीहरुको हो । गृहमन्त्रालयका अनुसार २ हजार ७ सय १६ वटा पिलर त गायब नै छन् । हराएका सीमाको खोजबिन र मर्मतसम्भारमा नेपाल सरकारले कुनै पहल गरेकोछैन ।

दक्षिणी सीमातर्फ १ हजार ५ सय ५६ सीमा स्तम्भ जीर्ण र २ हजार ८ सय ९१ स्तम्भमा सामान्य क्षति पुगेको भएपनि मन्त्रालयले त्यसतर्फ चासो दिएको छैन । सीमा सुरक्षा र स्तम्भ संरक्षणका लागि सशस्त्र प्रहरीका करिब २ सय २० स्थानमा बोर्डर अब्जरवेशन पोस्ट ‘बिओपी’ छन् । अझै बिओपी थप्ने पहल भैरहेको छ । भारततर्फ प्रयाप्त संख्यामा बिओपी रहेका छन् । भारततर्फ हरेक पाँच पाँच किलोमिटरमा बिओपी छन् भने नेपाल तर्फ भने १५ किलोमिटरको हाराहारीमा बिओपी रहेका छन् ।