कोरोनाबारे चिनियाँ सुपरकम्प्युटरको नयाँ खुलासा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोरोनाबारे चिनियाँ सुपरकम्प्युटरको नयाँ खुलासा



एजेन्सी- कोरोना भाइरसको जन्मस्थानका विषयमा चीन र अमेरिकाबीच पटक-पटक विवाद भैरहेको छ । हालै चिनियाँ सूपरकम्प्युटरले अमेरिकाको अस्पतालमा अघिल्लो वर्ष देखिएको रहस्यमय न्युमोनियाको मामिला कोरोना भाइरस संक्रमण हुनसक्ने जनाएको छ ।

तियानजिङस्थित नेशनल सूपरकम्प्युटर सेन्टरको तियान १ मेसिनले जुलाई महिनामा गम्भीर रुपमा बिरामी परेका एक अमेरिकी बिरामीको क्याट (कम्प्युटराइज्ड एक्सियल टोमोग्राफी स्क्यान) इमेज निकालेको थियो ।

चिनियाँ कम्प्युटर स्क्यानिङको आधारमा बिरामीमा कोरोना भाइरस संक्रमण भएको सम्भावना देखाइएको छ ।

रिपोर्टमा बिरामीको फोक्सोको तल्लो भागमा सेतो दाग पाइएको छ । यो दाग न्युमोनियामा नहुने चिकित्सकहरुले बताएका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको रिपोर्ट अनुसार बिरामीमा कोभिड १९ का सम्भावना देखिएको छ । महामारीसँग जोडिएका यी जानकारी र अन्य क्लिनिकल टेष्ट मिलाएर डायग्नोसिस गर्न सुझाव पनि दिइएको छ ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)को वेभसाइटका अनुसार यी बिरामी नर्थ क्यारोलिनाको भेकमेड अस्पतालमा भर्ना भएका पाँचमध्ये एक जना थिए । यी पाँच जना व्यक्तिको फोक्सोमा समस्या देखिएको छ । यी पाँच जनाको उमेर १८ देखि ३५ वर्ष थियो । जसलाई स्वास लिन समस्या भएको थियो । ज्वरो, भोमिट र आलस्यता महसुस बिरामीमा लक्षण देखिएको थियो ।

सिडिसीको रिपोर्ट अनुसार पाँच जना नै स्वास लिन समस्या भएपछि अस्पताल भर्ना भएका थिए । पाँचमध्ये तीनजनालाई आइसियुमा राखेर उपचार गरिएको थियो । चिकित्सकले इन्फ्लुइन्जा वा अन्य कुनै रोगको पहिचानका लागि प्रयोगशालामा विभिन्न नमुना पेश गरेका थिए । सबै नमुना नेगेटिभ आएको थियो । अन्तिममा बिरामी ठिक भएकाले उनीहरुलाई इलेक्ट्रीक चुरोटको सेवनले समस्या आएको भनिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले भने चिनियाँ कम्प्युटरको नतिजाको खारेज गरेका छन् । उनले चिनियाँ कम्प्युटरले निकालेको इमेजमा देखिएको दाग अन्य विभिन्न स्वास्थ्य समस्या आएका व्यक्तिमा पनि देखिन सक्ने दावी गरेका छन् । तर कुन कुन रोगमा देखिन्छ भन्ने कुरा उनले खुलाउन सकेका छैनन् ।

डा. डेभिडसनले भनेका छन्, ‘अन्य विभिन्न प्रकारका संक्रमणका कारण ती बिरामीको फोक्सोमा त्यस्तो समस्या देखिएको हुनसक्छ । चिनियाँ सूपरकम्प्युटर तियानले जुन लक्षणको पहिचान गरेको छ, त्यो कोभिड १९ का बिरामीसँग लक्षण मिलेको मात्र हुनसक्छ ।’ डा. डेभिडसनले यी पाँच बिरामीको समुदायमा पनि यस्तो स्वास्थ्य समस्या नभएको बताएका छन् । उनले सन् २०१९ मा संक्रामक रोगका धेरै बिरामी पनि अस्पताल नआएको दावी गरेका छन् ।

संसारका धेरै वैज्ञानिकले कोरोना भाइरसको पहिचान वुहानमा हुनुभन्दा पहिले यसले धेरै ठाउँमा फैलिने मौका पाइसकेको अनुमान गरेका छन् । युएस नेशनल इंस्टिच्युट अफ हेल्का निर्देशक डा. फ्रान्सिस कोलिन्सले नयाँ कोरोना भाइरस जनावरबाट मानिसमा कयौँ वर्ष पहिलो आएको हुनसक्ने बताउँछन् । त्यसरी आएको कोरोनाले अहिले मानिसमा बिरामी फैलाउने क्षमता बिकास गरेको हुनसक्ने उनको दावी छ । उनी पनि कोरोना भाइरस वर्षौपहिले आइसकेको कुरामा विश्वास गर्छन् ।

फ्रान्सेली वैज्ञानिकहरुले पनि कोरोना भाइरस चीनको वुहानमा देखिए पनि त्यसअघि नै यो सक्रिय रहेको हुनसक्ने कुरा अघि सारेका छन् । उनीहरुले जनावरमा पाइने भाइरसले बिस्तारै एड्स, इबोला जस्तैगरी मानिसमा आएको हुनसक्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।

चीनले कोरोना भाइरसका बिरामी पहिचानका लागि आर्टिफिसियल इन्टेलिजेन्सको ठूलोमात्रामा प्रयोग गरिरहेको छ । वैज्ञानिकहरुले चिनियाँ सूपरकम्प्युटरको प्रभावकारीता ९६ प्रतिशत रहेको बताएका छन् । कतिपय अवस्थामा यी कम्प्युटरले गलत भएका ल्याब रिपोर्टलाई पनि सुधार गरेका छन् । त्यसैले सूपरकम्प्युटरको प्रभावकारीता राम्रो छ ।

चीनको वुहानस्थित जिनयिनतान अस्पतालका एक चिकित्सकले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर ठूलो संख्यामा कोरोना बिरामीको परीक्षण गरेका थिए । उनले आर्टिफिसिल इन्टेलिजेन्सले मानिसलाई सहयोग गरेपनि अझै शतप्रतिशत भर पर्न नसकिएको बताएका छन् ।

साउथ चाइना मर्निङपोष्टका अनुसार चिनियाँ सूपरकम्प्युटरले फेला पारेको तथ्य र अमेरिकी सूपरकम्प्युटरले पहिचान गरेको तथ्यलाई एक ठाउँमा भिडाएमा यसका धेरै रहस्य सार्वजनिक हुनेछ । कोरोना भाइरसका विषयमा अमेरिका र चीनले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरिरहेका छन् ।