सुदुरपश्चिममा मृत्यु हुनेको संख्या चार पुग्यो
कैलाली- कैलालीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका- १ का ४६ बर्षीय संक्रमित पुरूषको बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ भने लम्की चुहा नगरपालिका- २ की ४३ बर्षीया महिलाको पनि मृत्यु भएको छ ।
नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मंगलबार मृत्यु भएको र उनमा मृत्युपछि आज कोरोना पुष्टि भएको हो ।
टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । उनका अनुसार शव मेडिकल कलेजमै राखिएको छ ।
यो सँगै सुदुरपश्चिममा कोरोनाका कारण चार जनाको मृत्यु भएको छ । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिला र बाजुराको बुढीगंगा नगरपालिकाकी दुई बर्षीया बालिकको मृत्यु भएको थियो ।