तारेखमा छाड्न माग : तस्करी अभियुक्तले दर्ता गराए अदालतमा निवेदन
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या काण्डका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत, मोरङको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।
जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि उनीहरुलाई थुनामा राखिएको थियो । उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर अनुसार उच्च अदालतमा निवेदन दिएका छन् ।
उच्च अदालतमा निवेदन पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, गोरेको सहयोगी टेकबहादुर मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेलगायतले दिएका हुन् । गोरेका सहयोगी मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी थापाले कानुन व्यवसायी नारायणप्रसाद अधिकारी मार्फत र अन्य अभियुक्तले आआफ्ना कानुन व्यवसायीमार्फत अदालतमा निवेदन दिएका हुन् ।
अदालती बन्दोबस्तको १७ नम्बरमा पुनरावेदन सुन्ने अदालतले मातहतका अदालतमा परेका मुद्दाको कारबाहीमा म्याद नाघेको वा प्रक्रिया नपुर्याएको पाइएमा १५ दिनभित्र प्रक्रिया पूरा गर्न वा कानुन बमोजिम मुद्दाको किनारा गर्न आदेश दिन सक्ने व्यवस्था छ ।
अभियुक्तले उच्च अदालतमा निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेशसहितको कैफियत प्रतिवेदन पठाएको छ । आउँदो बिहीबार यस निवेदनमाथि उच्च अदालतले पेशी तोकेको छ । उच्च अदालतमा उक्त दिन वादीको तर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने जानकारी स्रोतले दिएको छ ।
गएको जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई मोरङ जिल्ला अदालतका न्यायधीश नारयणप्रसाद शर्माले पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएका थिए । उनीहरुविरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।