सुमार्गी प्रकरणः आफैं पठाउने, आफैं पाउने, भागे सुमार्गी - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

सुमार्गी प्रकरणः आफैं पठाउने, आफैं पाउने, भागे सुमार्गी



सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ ।

उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन प्रतिवेदनमा उल्लेख भएसँगै यो नयाँ तथ्य खुलेको हो । आजको कान्तिपुरमा यो खबर छ ।

सुमार्गी आफंैले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेकोआफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ ।

‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीलेसन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर (करिब २५ करोड रुपैयाँ) मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

बाहिरिए सुमार्गी

शंकास्पद आर्थिक कारोबारमा संलग्न व्यापारी अजेयराज सुमार्गी बिहीबार अपराह्न त्रिभुवन विमानस्थलबाट दुबई हुँदै विदेशतर्फ लागेका छन् ।

सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार छानबिन अगाडि बढाउनासाथ उनी पक्राउ पर्ने सम्भावना थियो ।

फ्लाई दुबईको साढे ३ बजेको उडानमार्फत सुमार्गीले देश छाडेको विमानस्थल अध्यागमन रेकर्डमा उल्लेख छ । ‘मनी लन्डरिङको केस भएकाले उनलाई विदेशबाटै पक्रेर ल्याउन पनि समस्या छैन,’ छानबिनमा संलग्न अधिकारीले भने, ‘तर उनी आफूलाई जोगाउन राजनीतिक लबिइङ गर्दै छन् ।’ अजेयविरुद्ध कारबाही अगाडि नबढाइदिन जिकिर गर्दै उनका भाइ अरुणराज बिहीबार साँझ एक प्रभावशाली मन्त्रीकहाँ समेत पुगेका थिए ।