कहिले बन्छ सुखड – भजनी ४ सय ४५ मिटर सडक पिच ?

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको सुखड – भजनी ४ सय ४५ मिटर पिच सडक निर्माणले समयमै गति लिन नसक्दा स्थानीय बासिहरु धुलो धुवाका कारणले हैरानी व्यहोर्न बाध्य भएका छन् ।
यही असोज मसान्तसम्ममा काम सक्ने गरी ठेक्का लिएपनी कार्तिक महिना लाग्दासम्म पनि सडक पिच निर्माण कार्यमा ढिलाइ हुँदा सर्वसाधारणलाई धुलोका कारण हिँडडुल गर्न सास्ती भएको छ ।
पानी पर्दा हिल्लाम्य र घाम लाग्दा धुल्लाम्य सडकले स्थानीय तथा व्यापारीहरू आक्रोशित बनेका छन् । सडकमा मालवाहक ट्रक , बस , ट्रयाक्टर ,टिपर ,ट्याङ्कर लगायतका साधनहरू ओहोरदोहोर गर्दा उड्ने धुलोका कारण विभिन्न रोगहरू लाग्ने तथा पसलमा राखिएको सामानहरू ड्यामेज समेत हुने हुँदा स्थानीय बासिन्दा तथा व्यापारीहरू आक्रोशित बनेका हुन ।
सुखड – भजनी सडक निर्माणमा ढिलाइ हुँदा उड्ने धुलोका कारण आफ्नो पसलमा भएका कपडाहरू ड्यामेज भएको कपडा पसलका सञ्चालक युवराज चौधरीले बताए । त्यस्तै आफूले बनाएर राखेको खाना वा नास्ताहरूमा धुलो पस्दा त्यस्तै फाल्नु परेको एक होटेल सञ्चालकले गुनासो गरे । उनले भने, ‘यही धुलोका कारण अहिले ग्राहकको सङ्ख्यामा पनि कमी भएको छ ।’ यी त एक उदाहरण मात्र हुन । यो सडक छेउमा बस्ने स्थानीय तथा ब्यापरीहरु धुलोका कारण आफूहरूलाई विभिन्न रोग लाग्ने हो कि भन्ने चिन्तामा रहेको बताउँछन् ।
घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशीले सुखड बजारको न्यु चौलागाई ट्रेडर्स देखी भुखाली चोक सम्मको ४४५ मिटर लम्बाइ र १३ मिटर चौडाइ सडक पिच गर्न जे.बि.निर्माण सेवा पहलमानपुरलाई ५१ लाखमा असोज मसान्तसम्म काम सम्पन्न गरिसक्ने गरी ठेक्का दिएको बताए । उनले भने, ‘असोज मसान्तसम्म काम सक्नु पर्ने भएपनी अहिले सम्म काम नसकिँदा ठेकेदारले म्याद थपको निवेदन दिएको छ , सायद आज भोलि बाटै काम सुरु गर्छ होला । ‘
साथै घोडाघोडी नगरपालिका निमित्त प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले मङ्गलवार नै ठेकदार लाई नगर प्रमुख ममता प्रसाद चौधरीको कार्यालयमा बोलाएर उक्त सडकको बारेमा छलफल गर्दा अबको एक साता भित्र सडक निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको बताए ।
त्यस्तै यता ठेकेदार खडक बोगटीले यस अघि सडकमा वेसको गिट्टी हाल्न नमिल्ने हुँदा आफूहरूले काममा ढिलाइ गरेको बताए । उनले भने, ‘ असोज मसान्तसम्ममा काम सकिने गरी सम्झौता गरे पनि बेस गिट्टी हाल्न नमिलेको कारण सडक निर्माणमा ढिलाइ भएको हो ।’ ‘हामीले नगरपालिकामा म्याद थप गर्ने बारे निवेदन दिइसकेका छौँ , कार्यपालिकाको बैठकले कहिले सम्मको समय दिन्छ , उसले जति समय दिए पनि यही कार्तिक मसान्तसम्ममा सडक पिच गर्नेछौ उनले थपे ।’ साथै बोगटीले घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा पनि सडक निर्माण कार्य सुरु भएको र अबको एक हप्ता भित्रमा सुखड- भजनी सडक निर्माणले गति लिने बताए ।
सुखड – भजनी सडक खण्डमा कुनै पनि आयोजना बिना सडक पिच गर्नाले यस अघि पनि पटक – पटक पिच बाटो बनाउँदै भत्काउदै गरेका थिए ।

