झनै रहस्यमय बन्दै सुजिताको मृत्यु: प्रहरी नै अलमल्ल - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

झनै रहस्यमय बन्दै सुजिताको मृत्यु: प्रहरी नै अलमल्ल



काठमाडौं- चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु झनै रहस्यमय बनेको छ । उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौको त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा कुनै पनि प्रकारको चोटपटक नदेखिएको बताइएको छ । रिपोर्टमा मृत्युको कारण खुल्न नसकेपछि प्रहरी झनै तनावमा परेको छ ।

एक प्रहरी अधिकृतका अनुसार ‘शरीरका कुनै पनि भागमा चोट छैन । जबरजस्ती करणी गरेको पनि देखिएको छैन । यसले अनुसन्धानलाई थप पेचिलो बनाएको छ ।’ अब उनको शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण ल्यावमा हुनेछ ।

सुजिताको भिसेरा परीक्षण हुनेछ । जसमा उनले जीवितै कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे त्यसपछिमात्रै खुल्ने प्रहरी अधिकारी बताउँछन् ।

असार ११ गतेबाट बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन । भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरुको विश्वास छ ।

सुजिताको हत्या भएको आफन्त र स्थानीयको दाबी छ । सुजिताले असार ११ गते दिदीलाई आफूलाई दुई महिला र एकजना पुरुषले गाडीमा हालेर लैजान खोजेको बताएकी थिइन् । असार ११ गते १२ बजेर ४३ मिनेटसम्मको समयमा सुजिताको मोबाइल अन भएको र त्यसपछि अफ भएको पाइएको एक प्रहरी अधिकारीले बताए ।

सुजिताको शव भेटिएको स्थानमा विषादीको बट्टा पनि भेटिएको थियो । घटनास्थलभन्दा केही पर उनले प्रयोग गर्दै आएको मोबाइलसमेत भेटिएको छ । तर सिमकार्ड भने फेला परेको छैन । प्रहरीले मोवाइलसँगै सुजिताले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको समेत प्राविधिक विश्लेषण गरिरहेको छ ।

आफन्तले सुजिताको अहरणको दाबी गरे पनि अनुसन्धानमा अपहरणको संकेत नदेखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।