सुजाता कोइराला पनि कांग्रेस सभापतिको उम्मेदवार - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

सुजाता कोइराला पनि कांग्रेस सभापतिको उम्मेदवार



काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउँदो महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेकी छन् । उनले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेको बताएकी छन् ।

जीपी कोइराला फाउन्डेसन अमेरिकाले आयोजना गरेको भर्चुअल संवादमा उनले पार्टीको वर्तमान नेतृत्व परिवर्तनका लागि आसन्न महाधिवेशनमा सभापति पदमा लड्ने बताएकी हुन् ।

पार्टीमा परिवर्तन ल्याउन र अहिले देखिएका अनुहारलाई परिवर्तन गर्न आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा जुटेको कोइरालाको भनाइ थियो । उनले आफ्नो उम्मेदवारीको विषयमा तिहारपछि औपचारिक रुपमा बोल्ने बताइन् ।

नेतृ कोइरालाले अहिलेसम्मको शैलीबाट पार्टी चल्न नसक्ने भन्दै आगामी दिनमा पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
‘पुरानै ढंगबाट पार्टी चल्न सक्दैन । अब नयाँ ढंगबाट पार्टीलाई अगाडि लिएर जानु पर्दछ,’ उनले भनिन्, ‘त्यसका लागि हामीहरुले युवालाई, महिलालाई अत्यधिक रुपमा क्रियाशील (सदस्यता) दिनुपर्छ । उनीहरुको नेतृत्वलाई अगाडि बढाउनुपर्छ ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नाम नलिए पनि घुमाउरो शैलीमा पार्टी सञ्चालन गर्न नसकेको समेत आरोप लगाइन् ।

‘माथिल्लो लेवलमा लिडरसिपको कमी पनि देखियो । यो मैले मात्रै भनेको होइन । नेपाली कांग्रेसका यो सबैले महसुस गरिरहेका छन्’, उनले भनिन्, ‘विकास निर्माणको योजना, सोच र दृष्टिकोण केही छैन, यसरी पार्टी चल्छ ? प्रतिपक्ष हुँदा पनि काम गर्ने हो । सुतेर बस्ने होइन ।’

कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरिसकेको छ । तर, कोभिड–१९ का कारण कांग्रेसले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकाअनुसार कार्यसम्पादन भने गर्न सकेको छैन ।

महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कात्तिक २७ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएका कारण कांग्रेसले २४ गतेका लागि तय गरेको बैठक पछि सारेको छ ।