एक थान मन्त्री बन्न सुजाता कोइरालाको त्यो चटक - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

एक थान मन्त्री बन्न सुजाता कोइरालाको त्यो चटक



काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै कांग्रेसमा अवसर लिनेहरूको ताँती लाग्न थालेको छ । यतिसम्म की नेताहरूलाई दवाव थेग्न समेत हम्मेहम्मे परेको छ ।

पार्टीको महाधिवेशन छाडेर कतिपय नेताहरू मन्त्री बन्न र अन्य अवसर लिन नेताहरूकहाँ धाउन थालेका छन् । एकातिर महाधिवेशनको तयारी अर्कातिर विश्वासको मत लिने चटारोकाबीच नेताहरूले नेतृत्वमाथि दवाव बढाउन थालेका छन् ।

यस्तै जति अवसर पाएपनि सधै सत्तामै रहन चाहने नेतृ सुजाता कोइरालाले फेरि उपप्रधानमन्त्री बन्न पारिवारिक राजनीतिलाई उपयोग गर्न थालेकी छन् । सुजाताले आफू मन्त्री बन्न कोइराला परिवारलाई एक देखाएर देउवामाथि दवाव बढाएकी छन् । शनिबार कोइराला परिवारका सक्रिय दुई नेताहरसँग लन्च बैठक गरेर सुजाताले आफूहरू एक भएको संदेश दिएकी छन् ।

आसन्न महाधिवेशनका लागि देउवाले सभापतिको तयारी गरिरहेका बेला सुजाताले दिएको यो सन्देशले खास अर्थ राख्ने कांग्रेसका एक नेता बताउँछन् । आफ्नै समुहका नेता विमलेन्द्र निधिले सभापतिमा लड्ने भएपछि देउवालाई थप नेताहरूको साथ चाहिएको छ ।

शनिबार पार्टीका महामन्त्रीसमेत रहेका बीपी पुत्र शशांकको महाराजगन्जस्थित निवासमा शेखर कोइराला र सुजाता कोइरालाले लामो छलफल गरे । छलफलमा सुजाताले उपप्रधानमन्त्री सहित सरकारमा जाने इच्छा ब्यक्त गरिन् ।

उनको यो चालले खासमा दुबैतिर बार्गेनिङ गरेको देखिन्छ । एकातिर आफू मन्त्री भएको खण्डमा आफ्नै परिवारबाट लड्ने सभापतिको उम्मेदवारलाई सघाउने । अर्कातिर देउवालाई कोइराला परिवारलाई आफूले मोड्नसक्छु भन्ने संदेश दिने ।