सुगम जिल्लाको दुर्गम बराह नगरपालिका - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुगम जिल्लाको दुर्गम बराह नगरपालिका



सुनसरीको सदरमुकाम ईनरुवा देखि लगभग २६ कि. मि. भित्र उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप-महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोसी गाउँपालिकाको सिमानामा अवस्थित छ बराह नगरपालिका ।

२०७३ साल फाल्गुन २७ गते सरकारले ५ गाविसहरु क्रमशः भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन मिलाएर आधिकारिक रूपमा नगरपालिका घोषणा गरेको हो । २२२.९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिका सुनसरीको सबैभन्दा ठुलो न. पालिका पनि हो । २०६८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या ७७,४०८ रहेको छ ।

११ वटा वाडमा विभाजित यस नगरपालिकामा विभिन्न धार्मिक, सास्कृतिक, पर्यटकीय क्षेत्र समेत पर्द्छ । नेपालको सबैभन्दा ठुलो चारकोसे झाडी, सात वटा नदी मिलेर बग्ने सप्तकोसीले पनि यस नगरपालिकालाई छोएको छ । सुनसरी जिल्लामा २ उपमहानगर पालिका, ४ नगरपालिका र ६ गाउँ पालिका रहेका छन् । ४ नगरपालिका मध्येको धेरै सम्भावना भएको नगरको रूपमा बराह न. पा. लाई लिइन्छ ।

बराह न. पा. बाट धरान उप-महानगरपालिका जान १२ कि. मी को दुरी छ भने ईटहरी उप-महानगरपालिका जान १४ कि. मी. लाग्छ । यहाँ शुक्रवार बाहेक सबै जस्तो दिन हाट बजार लाग्ने गर्द्छ । यहाँको पुरानो बजारहरुमा कालाबन्जार भरौल, बाङे, चक्रघटी, प्रकाशपुर, चतरा, राजावास आदि पर्छन् । यसको नगरको मुख्य समस्या सुकुम्बासी, औलानी जग्गा, खानेपानी र कोसी कटान रहेको छ । पटक-पटक यस क्षेत्र बाट जितेर सासद, मन्त्री हुँदा समेत यहाँको समस्या जिउको तिउ रहेको स्थानीयहरु दुखेसो पोक्छन ।

सुमुन्द्री सतह बाट ३० मिटर उचाइमा रहेको यस नगरमा खस क्षेत्री ब्राह्मणहरुको सङ्ख्या अधिक र राई, लिम्बू, थारु आदि जातिहरु रहेका छन् । यहाँ बौद्ध, हिन्दु, कृश्चियन, मुस्लिम धर्मलम्बीहरुको लागि गुम्बा, मन्दिर चर्च र मस्जिद रहेका छन् । यस नगरमा २ बहुमुखी क्यामपस, ४ उच्च मा.वि. छन् । विभिन्न सरकारी कार्यालय चक्रघटी महेन्द्रनगरमा अवस्थित छ । चक्रघटी यहाँको पुरानो बजारको रूपमा चिनिन्छ । इलाका प्रहरी कार्यालय, विधुत प्राधिकरणको अफिस, नगरपालिकाको कार्यालय लगायत बैक तथा वितिय सस्थाहरु चक्र्घटीमा अवस्थित छन् ।

बराह नगरपालिकामा पर्ने ५ गाविस हरू बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवनलाई निम्न तरिकाले विभाजन गरिएको छ: वाड न. १ मा बराहक्षेत्रको १,५,७,९ वाड न. २ मा २,४,६ पर्छन् । वाड न. ३ मा भरौलको ३ वाड न. ४ मा २,६,९ वाड न. ५ मा १,४,५ वाड न. ६ मा महेन्द्रनगरको १,२,५,६ वाड न. ७ मा ४ वाड न. ८ मा ३,७,९ वाड न. ९ मा प्रकाशपुरको २,५,९ वाड न. १० मा १,६,८ वाड न. ११ मा मधुवन १-९ पर्छन् ।

विभिन्न सस्थाले गरेको तथ्याङ्क अनुसार ७१% मानिस कृषिमा, ८ % मानिस व्यापारमा र २१ % मानिसहरू ज्याला मजदुरीमा निर्भर रहेका छन् । राजनीतिको हिसाबले यस क्षेत्रमा एमालेको पकड राम्रो देखिन्छ संविधान सभाको दुईवटा चुनावमा एमालेका तर्फबाट भीम आचार्य विजय भएका थिए । स्थानीय चुनावमा मेयर, उपमेयर सहित ८ वटा वाडमा एमाले विजयी भएको थियो भने ३ वटामा काङ्ग्रेस विजय भएको थियो । यस क्षेत्रमा माओवादी, राप्रपाहरु कमजोर रहेको देखिन्छ ।

यस नगरमा विभिन्न धार्मिक, सास्कृतिक, पर्यटकीय क्षेत्रहरू पर्छन् । धार्मिक, सास्कृतिक क्षेत्रहरूमा प्राचीन हरिद्वार चतराघाम जहाँ १२ वर्षमा एक पल्ट कुम्भ मेला समेत लाग्ने गर्द्छ । त्यस्तै बराहक्षेत्र मन्दिर, कृष्ण मन्दिर, राधाकृष्ण मन्दिर, कुटी, चन्द्र मैन धामी मन्दिर, सरदार थान मन्दिर आदि छन् भने पर्यटकीय क्षेत्रहरूमा उमाहा सिमसार, गहने पोखरी, टेकाने कुन्ज, कोसी टप्पु, कोसी नदी, चारकोसे झाडी आदि पर्छन् तर प्रचार प्रसारको कमीले यी पर्यटकीय क्षेत्र अहिले ओझेलमा परेका छन् । यस नगरलाई चिनाउने रास्टिय कलाकारहरुमा इसा परियार, नेपाली तारा सिजन १ का विजेता दीपक लिम्बू त्यस्तै महा नायक राजेश हमालको ससुराली अर्थात् उहाँको श्रीमती मधु भट्टराईको नाम समेत छुटाउन मिल्दैन । यस नगरलाई चिनाउने रास्टिय खेलाडीहरुमा टक बस्नेत, हरि ठाकुरी, विमल कार्की, भेष राज कार्की, निशान लिम्बू, गुडिया राई, आशाराम चौधरीको नाम अग्रपक्तीमा आउँछ । साहित्यको क्षेत्रमा स्वणिम साहित्य समाज, पुर्वीली साहितिक मन्च अग्र स्थानमा आउछन् ।

सुगम जिल्लामा अवस्थित यस नगरपालिकाको विकासलाई यथा शीघ्र अगाडि बढाउने प्रतिबद्धताको साथ नवनिर्वाचित मेयर निलम खनालले प्रथम नगर सभा सम्पन्न गरेका छन् । अब चाडै नै विकासले गति लिने कुरामा आस पलाएको बताउछन् ।

ओम प्रकाश बानियाँ
बराह न. पालिका वाड न. ५
हाल- दोहा कतार