नेपाली मिडियाले समाचार बंग्याएको सुधिर चौधरीको आरोप - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

नेपाली मिडियाले समाचार बंग्याएको सुधिर चौधरीको आरोप



काठमाडौं- भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपाली मिडियालाई दोष लगाएका छन् । चौधरीले आफूले प्रसारण गरेको सगरमाथासम्बन्धी सामग्री नेपाली मिडियाहरूले म्यानुपुलेट गरेको आरोप लगाएका छन् ।

आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै चौधरीले सगरमाथा नेपालकै भएको बताएका छन् ।

जी न्युजमा प्रसारित उनको रिपोर्ट भाइरल भएपछि बुधबार भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘सगरमाथामाथि भारतको दाबी गरिएको छैन र मैले त्यस्तो भनेको पनि छैन । । सगरमाथा नेपालको हो । नेपालकै रहनेछ। यसको भूगोल कसैले बदल्न सक्दैन।’

उक्त भिडियो सन्देशमा चौधरीले माउन्ट एभरेस्टको नाम बदल्ने जी न्युजको अभियानलाई सगरमाथामाथि दाबी गरेको भनी नेपालमा गलत ढंगले समाचार लेखिएको बताएका छन् ।

‘हामी यति मात्र मागिरहेका छौं, सगरमाथाको पहिलोपल्ट उचाइ नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई यसको श्रेय मिल्नुपर्‍यो। हामी नेपाल र नेपालीबाट केही खोस्न चाहन्नौं। जसरी नेपालीले सर्वोच्च शिखरलाई माउन्ट एभरेस्ट भन्दैनन् (सगरमाथा भन्छन्), यसरी नै भारतीयले पनि यसलाई माउन्ट सिकदर भन्न पाउनुपर्‍यो’, उनको भनाइ छ, ‘नेपाल र संसारका जनताले यसलाई स्वीकार गर्नुभयो भने त्यो उहाँहरूको महानता हुनेछ।’

अंग्रेजकालमा जानीबुझी भएको गल्ती आफूहरूले सच्याउन मात्र चाहेको उनको भनाइ छ। ‘हामी नेपाली दर्शक र नेपालका दाजुभाइ, दिदीबहिनीसँग भन्न चाहन्छौं, नेपाल र भारतबीच राम–लक्ष्मणजस्तो सम्बन्ध छ।

यो सदा रहन्छ’, उनले भनेका छन्, ‘माउन्ट एभरेस्ट नेपालमा छ, यसलाई कसैले इन्कार गर्न सक्दैन। म नेपालका दर्शक र नेपाली नागरिकलाई दुःखी तुल्याउन चाहन्न। मेरो इरादा पनि त्यो होइन। नेपाल र भारतका जनताबीच कहिल्यै समस्या आउनु हुँदैन। हामी कुनै समस्या र पर्खाल आउन दिने छैनौं।’