ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुचनाले बालुवाटारमा सन्नाटा - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुचनाले बालुवाटारमा सन्नाटा



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद झांगिएपछि अनेक दृश्यहरू देखिन थालेका छन् । अनेक प्रयासपछि पनि विवाद नासुल्झिने देखेपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी रणनीति बनाउन आफू निकट नेताहरूलाई बोलाएर लामो परामर्श गरेका छन ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि उत्पन्न संकटले केन्द्रदेखि प्रदेश हुँदै गाउँ स्तरसम्म पार्टी विभाजन हुने अवस्था देखिएपछि नेताहरू परामर्शमा जुटेका हुन् ।

तर, प्रधानमन्त्री ओलीले बोलाएको जमघटको वातावरण भने एक नेताले सुनाएको सुचनाले बिथोलेको सहभागी एक नेताले बताएका छन् । छलफल चल्दैगर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको सुचना एक नेताले सुनाएपछि त्यहाँको माहोल एकाएक स्तब्ध भएको थियो ।

पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको एक नेताले छलफलकै क्रममा सुनाएका थिए । ति नेताले सुचना सुनाएपछि केहि समय नेताहरू चुपचाप भएको र माहोल नै स्तब्ध बनेको स्रोतले जनाएको छ ।

बिहीबार ओलीनिकट नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल उपस्थित थिए ।

प्रधानमन्त्री कार्यालयमै भएको भेटमा भर्खरै उक्त कार्यालय हेर्नेगरी जिम्मा पाएका ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी रहेको बताइएको छ । भेटमा अविश्वासको प्रस्ताव ल्याउने तयारीबारेको पनि चर्चा चलेको एक नेताले जानकारी दिए ।

“प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन् भन्ने सूचना पाएको छु,” एक नेताले भने, “प्रधानमन्त्री ओली र पार्टी अध्यक्षबीच पछिल्लो समय संवाद नै हुन सकेको छैन । तिक्तता झनै बढेर गएको छ ।”

त्यस्तै प्रचण्ड–नेपाल समूहले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेर नेताबाट हटाउने तयारी गरेको पनि आशङ्का गरेको छ । संसदीय दलमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत पुग्ने उनीहरूको विश्वास छ ।

खासगरी ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उल्लंघन गरेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र राष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जासुसी संस्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको बुझिएको छ।

पार्टीमा कुनै पनि सल्लाह नगरी ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि गत वैशाख १७ गते ओली र प्रचण्ड-नेपाल समूहले संंसदीय दलमा बहुमत देखाउन हस्ताक्षर गरेका थिए।

तर त्यतिबेला ओली पराजित भई प्रचण्ड-नेपालसँग सहमति गर्न बाध्य भएका थिए।

आफूसँग लामो समय ‘इगो’ साधेर बसेको भन्दै प्रचण्डलाई फकाउन ओलीले प्रदेशबाट झिकाएका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरु र ओलीका सल्लाहकारहरुबीच बिहीबार भएको आन्तरिक समीक्षामा पनि यो विषयबारे चर्चा भएको थियो।

प्रचण्ड फकाउन अनेक तिगडम

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको छलफल अघि शङ्कर पोखरेल खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओलीको सन्देश लिएर गए पनि प्रचण्ड सकारात्मक देखिएनन् । प्रचण्डले ओलीले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको, स्थायी कमिटी बैठकको आदेश अवज्ञा गरेको आरोप लगाए र कार्यशैली नसच्याएसम्म संवाद नहुने अडान लिए ।

प्रचण्डको जवाफ सुनेर चिन्तित बनेका पोखरेलले आएर आफ्नो समूहका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा दुवै जना अध्यक्षले आ–आफ्नो कार्यशैली सच्याउनुपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।