सूचनाको हक सम्बन्धी सिआइजिको अभिमुखिकरणले अर्घाखाँचीका जनता सचेत बन्दै । - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

सूचनाको हक सम्बन्धी सिआइजिको अभिमुखिकरणले अर्घाखाँचीका जनता सचेत बन्दै ।



कमल बिष्ट /अर्घाखाँची

सूचना तथा सुशासन अभियान सिआइजिले अर्घाखाँचीका विभिन्न ठाउँमा पुगेर सूचनाको हक सम्बन्धी सचेतता फैलाउने कार्यमा तीव्रता दिए सँगै स्थानीय जनताहरू पनि सचेत बन्दै गएका छन् , यसै क्रममा पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज पटौटीमा सूचनाको हक सम्बन्धी अभिमुखिकरण तथा गाउँपालिकाबाट सन्चालित योजनाहरूको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा पूर्व गाविस अध्यक्ष श्यामनाथ काश्यपले सार्वभौम सत्ता मुलुकका नागरिकले सूचनाको हकलाई प्रयोग गरेमात्र वास्तविक रूपमा आफूहरू यो देशको नागरिक बन्न सक्ने बताउनु भएको थियो । कार्यक्रममा नारायणी अधिकारी, दामोदर पोख्रेल, भोजराज घिमिरे र नारायण प्रसाद घिमिरेले मन्तव्य राख्नु हुँदै पूर्णरुपमा सूचनाको अधिकार सम्बन्धमा आज मात्रै जानकारी पाएको बताउँदै अगामी दिनमा यसको प्रयोगलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

करिब सभासयजनाको सहभागिता रहेको सो कार्यक्रममा सूचनाको हक सम्बन्धमा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल र गाउँपालिकाको योजना सम्बन्धमा वडा सचिव कुल दीप नारायण मिक्षले सहजीकरण गर्नु भएको थियो । स्थानीय कृष्ण प्रसाद गैरेको सञ्चालन शालिकराम घिमिरेको स्वागत मन्तव्य र वडा अध्यक्ष थानेश्वर घिमिरेको सभापतित्व रहेको सो कार्यक्रममा प्रमुख अतिथि श्यामनाथ घिमिरे काश्यपको हातबाट वडा अध्यक्ष घिमिरे लगायत विभिन्न समाजसेवीहरूलाई सुशासन प्रबर्द्धनका लागि मायाको चिनो प्रदान गरिएको थियो ।

यसै गरी भोलि मङ्गलवार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको प्रमुख आथित्यतामा सिआईजी अभियान पाणिनी गाउँपालिकाको अडगुरीमा सञ्चालन हुन गइरहेको सूचना तथा सुशासन अभियान, सिआईजीले जानकारी गराएको छ ।