हजार जोखिम बोकेका सुदुरपश्चिमका तीन नयाँ संक्रमित - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

हजार जोखिम बोकेका सुदुरपश्चिमका तीन नयाँ संक्रमित



विशाल पाण्डेय/कैलाली

सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या ४ पुगेका छ । शनिबार थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसअघि गत साता दुबईबाट फर्केका धनगढीका एकजनामा कोरोना संक्रमण देखिएको थियो ।

विदेशबाट संक्रमित भएर आएकाबाट अन्यमा सरेको भने यो पहिलो केस सुदुर पश्चिममै देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसारका तीन जना कोरोना संक्रमित बिरामी मध्य २ जना कैलाली र एक जना कञ्चनपुरका रहेका छन् ।

शनिबार थपिएका नयाँ तीन जनामा एक जना भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् भने दोस्रो व्यक्ति भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै तेस्रो व्यक्ति कैलालीकी ३४ वर्षीया महिला हुन् ।

क्वारेन्टाइनबाट घर फर्काइएको महिलानै संक्रमित

शनिबार कोरोना संक्रमणको पुष्टि भएको महिला यसअघि कैलालीमा संक्रमित भेटिएका ३४ वर्षिय पुरुषको आफन्त रहेको खुल्न आएको छ । उनी ती युवकको भाउजु हुन् ।

दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो । त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइए पनि कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको थियो ।

बुधबार पुनः सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्यको नमूना संकलन गरि परिक्षणको लागि काठमाडौं पठाइएकोमा आज एक जनाएको पोजेटिभ देखिएको हो ।

सीमा छलेर आएका थिए कञ्चनपुरका ४१ वर्षिय संक्रमित

कञ्चनपुरको बेदकोट नगरपालिका‐१० का कोरोना संक्रमित ४१ वर्षीय पुरुष यही चैत २ गते मात्रै भारत गएको पाइएको छ ।

उनी कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावतमा पुगेका थिए । भारत र नेपाल दुईवटै देशमा लकडाउन भएपछि काम नहुने भन्दै १४ गते उनी सहित अन्य १३ जना नेपालको सीमामा पुगेका थिए ।

गड्डाचौकी नाका वन्द गरेपछि उनीहरु ब्रहमदेवमण्डी क्षेत्र अर्थात भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट सीमा छलेर नेपाल आएको पाइएपछि शसस्त्र प्रहरीको टोलीले भेटेर बेदकोट नगरपालिकाको सडकमा ल्याएर छोडेको थियो ।

उनी सहितका १३ जनाले गाउँमै गएर बस्न खोजेपनि गाउँलेले थाहा पाएर बस्न नदिएपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइनमा बसाइएको थियो ।

उनिहरु १३ जनाको चैत २० गते सेनाले स्वाब संकलन गरेको र सबैको नेगेटिभ देखिए पनि ती ४१ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।

सयौं मानिसको भिडमा कोरोना संक्रमित

कैलालीको लम्कीचुहा नगरपालिका -९ का २१ वर्षीय संक्रमित युवा १२ चैतमा भारतबाट घर फर्किरहेका अन्य एक हजारजनासँगै झन्डै २४ घन्टा धनगढीको त्रिनगर नाकामा रोकिएका थिए ।

लकडाउनको समयमा ११ चैतको बेलुकीबाट त्रिनगर नाकामा पुगेकालाई प्रहरीले दोस्रो दिन रातिसम्म नाकामा रोकेर राखेको थियो । १२ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय प्रशासनले बसको व्यवस्था गरेर सीमामा रोकिएका ती युवासँगै अन्य नौ सय ९९ जनालाई १२ चैतको राति गन्तव्यमा पठाएको थियो ।

संक्रमित युवा भारतबाट फर्केका लम्की क्षेत्रका अन्य स्थानीयसँगै १२ चैतको राति १० बजे बस चढेर गन्तव्य पुगेका थिए । प्रहरीका अनुसार फर्केको दिन राति घर गएका ती युवा दोस्रो दिन बिहानबाट स्थानीय सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा अन्य ४४ जनासँगै बसेका थिए ।

नयाँ भेटिएका तीनैजना संक्रमितलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । कोरोना संक्रमणको पुष्टि भएसँगै तीनैजनालाई शनिबार बिहान अस्पताल ल्याइएको हो ।

दुबईबाट फर्किएका संक्रमित युवाको पनि सेतीमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।