सुदुरपश्चिममा पनि एक भए एमाले, माओवादीका मुख्यमन्त्री हटाउने तयारी - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

सुदुरपश्चिममा पनि एक भए एमाले, माओवादीका मुख्यमन्त्री हटाउने तयारी



कैलाली । सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार ढलाएर आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् ।

माधव कुमार नेपाल पक्षका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थालेका हुन् ।

सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् ।

सभामुख बाहेकका २४ जनामध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाए ।

अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एकताको लागि आन्तरिक छलफल सुरु भएको छ ।

१३ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने आन्तरिक तयारी थालेको हो ।

विगतमा माधव पक्षबाट संसदीय दलका नेता प्रकाश शाह वा पूर्व प्रमुख सचेतक तारा लामा तामाङलाई मुख्यमन्त्री बनाउने बिषयमा छलफल भएको थियो । उता ओली पक्षबाट पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । तर, दुबै पक्षले एकले अर्कालाई स्वीकार नगर्दा अहिलेसम्म एमालेको सरकार बन्न सकेन ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने बिषयमा आन्तरिक छलफल भइरहेको एमाले स्रोतले बतायो ।