भक्तपुरमा एक मिलियन डलर पुरस्कारको प्रतियोगिता हुँदै - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

भक्तपुरमा एक मिलियन डलर पुरस्कारको प्रतियोगिता हुँदै



काठमाडौँ- नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा एक मिलियन यूएस डलर (दश लाख अमेरिकी डलर) राशी पुरस्कार पाइने प्रतियोगिता हुने भएको छ। हल्ट प्राइज नामाकरण गरिएको यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न जनवरी २५ (माघ ११ गते मंगलबार) भित्र नाम दर्ता गरिसक्नुपर्ने कलेजले जनाएको छ।

कलेजका प्राचार्य प्रा डा हरिकृष्ण श्रेष्ठका अनुसार यो हल्ट प्राइजको दोश्रो संस्करण हो। उनका अनुसार यो प्रतिष्ठित वार्षिक प्रिक्वार्टर फाइनल राउण्ड हो। प्रतियोगितामा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाइने छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीले नाम दर्ता गराउनुपर्ने हुन्छ। इच्छुक प्रतिस्पर्धीहरुले ‘गेटिङ दी वर्ल्ड ब्याक टु वर्क’ विषयमा आफ्नो विचार निर्णायक मण्डल समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ।

हल्ट प्राइज (नेक) का क्याम्पस निर्देशक टानिया लामिछाने भन्छिन्, ‘हामी सबै नवविद्यार्थीहरुलाई यस परिस्थितिको प्रक्रियाको हिस्सा बनाउन चाहन्छौं। उनीहरुलाई शिक्षा र जानकारी दिनु यो एउटा सुरुवात मात्रै हो।’

यही प्रतियोगिताका क्रममा आयोजक समितिका सदस्यहरु र सहभागीहरुको बीचमा हल्ट प्राइज जानकारी सेमेष्टर कार्यक्रम सम्पन्न भएको छ। कलेज तहको प्रतियोगिताका विजयीहरूले क्षेत्रीय तहको प्रतियोगितामा भाग लिने छन् र क्षेत्रीय तहको प्रतियोगिताका विजयीहरूले केन्द्रीय तहको प्रतियोगितामा भाग लिने छन्। केन्द्रीय तहको प्रतियोगितामा विजय प्राप्त भएमा प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न दश लाख अमेरिकी डलर प्राप्त हुनेछ।

कार्यक्रममा हल्ट प्राइजले कसरी काम गर्छ र सहभागीहरुले पछ्याउन आवश्यक विषयहरुबारे जानकारी गराइएको थियो। कार्यक्रममा अनुभव आदानप्रदान पनि भएको थियो। साथसाथै प्रश्नोत्तर पनि भएको थियो। कार्यक्रम सिमरन खतिवडा र प्रतीक नेपालले संयुक्त रुपमा सञ्चालन गरेका थिए।