कथा : मन रसाइरहेको छ
-तीर्थ सिग्देल
बिहेको मौसम छ । अतिथि सदनमा निक्कै भिडभाड देखिन्छ । सानो तिनो जिम्मेवारी पाए पनि त्यसलाई बिशेषरुपमा पूरा गर्ने आफ्नो पुरानै बानीले कहिलेकाहीँ निक्कै अप्ठ्यारो पार्दो रहेछ ।
चन्द्र भाइले भन्यो, के भएको हो, सर । कहिलेकाहीँ त कस्तो हुन्छ भने नि… ।
मैले भने, के भो र… ?
उसले दोहोर्यायो, हैन यी केटीहरूलाई कसले बनाउँछ, यस्तो ? हेर्दा पनि हुरुक्कै पार्ने ।
हँ हँ… किन के भो र ?
मेरो प्रश्नले ऊ अलिक लजायो र भन्यो, सर पनि… ,
नजर न हो । कति दोषी हुन्छ । नजर नै दोषी भएपछि कसको के लाग्छ र ? हुन त ऊ त्यस्तो मान्छे होइन । र, हरेक मान्छे त्यस्ता हुँदैनन् पनि । हुनु पनि हुँदैन । परबाट हिमाल पनि चन्द्रको कुरा सुनिरहेको हुन्छ । तर, ऊ त्यति बोलिरहेको छैन । ऊ बरु अलिकति व्यस्त देखिन्छ । व्यस्तता त के भनौ, कसैकसैको बानी नै त्यस्तै हुन्छ । अलिकति समय भयो की, व्यस्तता देखाउने । तर, उसले म त्यस्तो हैन । काम मै छु भनिरहेको छ ।
बेलाबेला चन्द्र बाहिर गइरहन्छ । ऊ अहिले फेरि बाहिर गयो । फर्केर आएपछि मर्ने गरी हाँस्यो । तर, अघिको जस्तो प्रतिक्रिया भने जनाएन । शायद उसले यस पटक आफ्ना आँखाको केही सरसफाइ गर्यो की ? खै…
नजरको दोष हो की अधरको ? जे होस् । मान्छे न हो । उसले आफूलाई सर्बोत्कृट प्राणी हुनुको फाइदा लिई छाड्छ । किनकि ऊ मान्छे हो, मान्छे । न ऊ पशु हुन सक्छ, न पंक्षी । मान्छे न घस्रेर हिँड्न सक्छ, न उड्न सक्छ । तर, त्यही मान्छे हो जसले आफूलाई कुनै बेला बिर्सन्छ । र, कहिलेकाहीँ उड्न खोज्छ त कहिले घस्रन पनि तयार हुन्छ ।
खास गरी मनका भाव उर्लेको बेला कसैसकैले आफूलाई थाम्न सक्दैन । कता कता ऊ चुक्छ । के सही र के गलत छुट्ट्याउन सक्दैन र अन्ततः फस्छ ।
फागुन लागेपछि पनि यस पटक गर्मी छैन । तराइमा पनि मौसम ठिक ठिकैको छ । न त गर्मी न जाडो । यस्तो मौसम हुनुको पनि मज्जा बेग्लै हुँदो रहेछ । एकातिर विवाहको मौसम र अर्कोतिर सन्तुलित मौसम । यसको मज्जा लिनेलाई त झन् मज्जा आइरहेको होला ।
शायद यति बेला फिक्कलतिरका होटलहरु खाली हुनन् । कन्याम पनि नक्कले छ । कहिले खुल्छ, कहिले धुम्मिन्छ, थाहा हुन्न । रेखाको होटेलमा पनि त्यति मान्छे नहुन सक्छन् । श्रीअन्तु पनि मान्छेजस्तै भएछ । उसलाई जतिबेला जे गर्न मन लाग्छ, त्यो गर्छ । उसलाई आतिथ्य स्विकार्न कुनै सिजन चाहिन छाडेछ । जतिबेला गएपनि हुने । कुनै दृश्यमा रोकावट छैन ।
अचानक आएको म्यासेजले अमम्बित तुल्याउँछ । त्यो पनि, नसोचेको मान्छेको ।
फागुन १० तिरको एउटा म्यासेजले खासै असर गरेन । किनकि ऊ त्यहाँ थिएन । अर्थात्, एउटा सानो लफडाले त्यता जानु भन्दा नजानु उचित थियो । ऊ गएन । नगएरै जित्यो उसले । हुनतः यस पटक ऊ जस्ता धेरैलाई त्यो रमझमले तानेन, त्यताको लनतनले गाँजेन । किन हो, थाहा छैन ।
उसले म्यासेज गरिछ । दादा हजुर पोखरामै हो ?
अहँ… म यस पटक त्यता आइन…, प्रदीपको उत्तरले शायद उसले चित्त बुझाई क्यार दोहोर्याएर केही सोधिन ।
तर, यस पटक उसले प्रदीपबाट निक्कै अपेक्षा गरी क्यार । फेसबुकमा उसले पोस्ट गरेको एउटा तस्बिर अपलोड भएको सूचना फेसबुकले कके पठाउन भ्याएको थियो । उसले प्यासेन्जरमा कल गरी ।
भनी, दादा… हजुर झापामै हो ।
हो त … तिमी कहाँ हो र ?
म पनि झापा मै हो र नि…
ए… कहाँ ?
धुलाबारी…
……….
मान्छे आफ्नो जीवनबाट सन्तुष्ट छैन । शायद मान्छेसँग सन्तुष्टिको मापन गर्ने यन्त्र नै छैन । किनभने जति नै प्रगति गरे पनि ऊ आफ्नो प्रगतिमा रमाउन सक्दैन । अर्थात्, सकेको छैन । आजसम्म यदि यसरी सन्तुष्टिको मापन गर्ने यन्त्रको विकास भएको भए यस्तो कहाँ हुन्थ्यो र ? वास्तवमा, एउटा सामान्य प्रगतिले शिखर चुम्न सक्दैन, मान्छेले । र, एक पछि अर्को, अर्को पछि अर्को प्रगतिको सिँढी चढ्न चाहन्छ, मान्छे ।
तर, मान्छेका लागि केवल त्यो प्रगतिको सिँढी मात्र अन्तिम सिँढी नबन्दो रहेछ ।
केही वर्ष अघि मात्र चिनजान भएर के भो र ? मान्छे मान्छे बिचको सामिप्यता र आत्मीयता नै काफी हुँदो रहेछ । त्यो नै ठुलो कुरा रहेछ । चाहे त्यो सात समुद्र पारि नै किन नहोस् ? त्यो आत्मीयता झन् गाढा हुँदो रहेछ ।
उसले अचानक कुरा झिक्यो, के अब तिमी बिहे गर्दिनौ ?
उसले अब बिहे नगर्ने भाव झल्काई । बरु भनी, अब त के बिहे गर्नु र ? दाइ…
उसको उत्तरले धेरै प्रश्न जन्माएको भान हुन्छ । किनकि मान्छे प्रायः विवाह नगरी बस्न सक्ने प्राणी होइन । अपवाद बाहेक धेरैका जोडी बाँधिएकै देखिन्छ । अझ सक्नेले धेरे पटक जोडी बाँधेका उदाहरण पनि भेटिएका छन् । भलै उसले पनि एक पटक त बिहे नगरेकी कहाँ हो र ? तर, मान्छेको जीवन सोचेजस्तो कहाँ हुँदो रहेछ र ? उसले कुरा खोतली, दादा हजुरलाई म के भनौ ? कसरी भनौ ? यी हेर्नुस् त, यो मेरी छोरी हो ।
प्रदीपले केही सोच्न सकेन । किनभने शायद उसले उसकी छोरी पनि छे भन्ने कल्पना पनि गरेको थिएन ।
ए… होर ? साह्रै रामी रहिछन् त । ठ्याक्कै तिमीजस्तै…, उसले मोबाइलका फोटो हेर्दे छोटो प्रतिक्रिया दियो ।
अनि उसले भनी, किन नहोस् त मजस्तै ? किनकि ऊ मेरै छोरी हो । मेरै …
म आज बाँचिरहेकै त उसकै लागि हो । शायद ऊ नभएको भए म नै नहुन पनि सक्थेँ की ? म अहिले यसरी ठम्ठम् हिँडिरहनुमा उसकै देन छ । अर्थात्, मैले जुन वेदना पालेर बसेँ, त्यो आज उसैले दूर गरिदिएकी छे । मान्छे किन बाँच्छ, केका लागि बाँच्छ ? भन्ने महसुस उसैले गराइदिए । म दुईचार दिन कामले बाहिर जाँदा मलाई यस्तो लाग्छ, म किन ऊबाट टाढा भइरहेकी छु । आखिर किन…?
शायद म आज धेरै भावुक भएँ क्यार…। हजुरलाई बोर भो की ?, उसले कुरालाई अन्तै मोड्न चाहेजस्तो गरी ।
हैन.. केही छैन, भने हुन्छ । मान्छेले आफ्ना पीडा जति पोख्यो उति नै मन हलुङ्गो हुन्छ भन्छन् । मैले किन त्यस्तो सोच्नु र ?, प्रदीपको सहज उत्तरले उसको मन खासै पगाल्न नसकेको भान हुन्छ ।
सन्नाटा भित्र कुनै बादल फाट्यो भने मेघ गर्जिन सक्छ, जसरी तलाउमा ढुङ्गा हान्दा तरङ्ग आउँछ । शायद मान्छेको जीवनका हरेक पाटाहरूलाई केलाउन सक्यो भने कतै मान्छेले निकास पाउन सक्छ । उसले खोतलेका अधुरा कुराले त के अर्थ राख्थ्यो र ? किनभने अधुरो कहानीले न उपन्यास पूरा हुन सक्छ, न लेखकले चित्त बुझाउन सक्छ । त्यो अवस्था आउनु भनेको यात्रामा पाइतालामा काँडा बीजेजस्तो मात्र हो । अझ हिँड्दा हिँड्दै सडक टुगिंनुजस्तै हो । एउटा लेखकले त्यस्तो अधुरो उपन्यासको कल्पना गर्ने सक्दैन । जसले यस्तो सोच्छ, उसले उपन्यास पूरा गर्न पनि सक्दैन ।
जीवन एउटा नटुगिंने यात्रा हो । यो भनाइलाई सार्थकता प्रदान गर्ने हो भने आज उसले जे पीडा भोगी, जे वेदना पोखी । त्यो अरूले भोगेका छैनन् भन्ने चाहिँ पटक्कै होइन, तर हरेक भोगाइका फरक फरक अनुभूति हुँदा रहेछन् । चाहे त्यो पुरुष होस्, चाहे महिला । सबैले पीडा भोगेकै हुन्छन् । तर, यस समाजले हेर्ने दृष्टिकोणमा फरक पर्ने रहेछ । उही भूमिका र जिम्मेवारीमा रहँदा पनि र कर्तव्य पालना गर्ने सन्दर्भमा पनि समाजले अलग अलग रूपले हेर्दो रहेछ । शायद उसले त्यही पीडा भोगी क्यार ।
कति कुरा अभिव्यक्त गर्न गाह्रो पर्छ । मान्छे हो, बोल्न सक्छ । र, पनि सबै कुरा भन्न सक्दैन । मान्छे बाहेकका त के कुरा गर्ने र ? जबसम्म मान्छेले आफै आफ्ना कुरा गर्न सक्दैन, तब कसको के लाग्छ र ? उसका संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतामा पनि भर पार्न सकेन भनेपछि । जबसम्म मान्छेले आफ्नैलाई विश्वास गर्न सक्दैन, त्यति बेला संविधानमा जति नै अधिकारका कुरा लेखेर पनि केही नहुँदो रहेछ ।
त्यस दिन प्रदीपलाई यस्तै लाग्यो । उसले नभनीकनै धेरै कुरा बुझ्यो । कुरा बुझ्न र बुझाउन बोल्नै पर्छ भन्ने पनि छैन र बोलेका कुरा सबै बुझिने गरिएका हुन्छन् भन्ने पनि हुँदैन । फेरि मान्छेले बोलेका कुरा सबै सत्य नै हुन्छन् भन्नै पनि हुन्न । बरु नबोलेरै अभिव्यक्त भएका कुराको धेरै अर्थ खुल्न सक्दो रहेछ । किनभने बोली एउटा अभिव्यक्तिको माध्यम मात्र हो, मान्छेले त नबोलरै धेरै काम गरिरहेको हुन्छ । जसरी आवाज नहुनेहरूले केही कुरा भनिरहेका हुन्छन्, जसरी मनको भावले प्रकट गरिरहेको हुन्छ ।
बरु मान्छेलाई आफ्नो आवाजले धोका दिन सक्छ, तर मनले कहिले पनि धोका दिँदैन । बरु हाउभाउले ढाँटी रहेको हुन्छ, तर नजरले कहिले पनि ढाँट्न सक्दैन । किनभने मनले सत्य बोल्छ, नजरले कहिले पनि धोका दिँदैन ।
उसका नजरले केही बताइरहेको छ । उसको मनले धेरै कुरा भनिरहेको छ । त्यो मन भित्रबाट प्रकट भएका भावलाई नजरले सञ्चार गरिरहेको छ । जे जति भनिरहेको छ, त्यो सबै बुझ्नु नबुझ्नु अलग हो । उसका अधरमा छल्केका वेदनाका आँसुले पछ्यौरी भिजाओस् या नभिजाओस्, तर त्यो वेदना भित्रबाट एउटा भाव प्रकट भइरहेको छ ।
अब मनको बाँध फुट्न मात्र बाँकी छ । शायद उसको मन रसाइरहेको छ ।
रसाउँदैछ, क्रमशः…
…………………