जब सुरक्षा गार्डले नै भन्यो, 'म बिजी छु' - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

जब सुरक्षा गार्डले नै भन्यो, ‘म बिजी छु’



महेशविक्रम शाहः प्रहरी नायव महानिरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो ।

मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें । त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ । रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन । दुई तीनपटक फोन गर्दा पनि फोन उठेन । त्यसपछि मैले मेरो गार्डलाई फोन गरें ।

गार्डलाई म धेरै माया गर्थें र उसलाई धेरै अवसर दिलाएको पनि थिएँ । उसले पनि पहिलोपटक फोन उठाएन । दोस्रोपटक फोन उठायो र भन्यो ” सर म त विजी छु। त्यसपछि उसले फोन काट्यो ।

मैले आफ्नो पिए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरें । …आधा रिङ्ग बज्यो र त्यसपछि आवाज आयो “…. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ ।” मतलब उसले मलाई ब्लक गरिसकेको थियो ।

मैले एक व्यक्तिलाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटकपटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोधमात्र होइन, अनुनय विनय गर्थ्यो ।

उसले फोन उठायो र हाँस्दै भन्यो ” सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।” म चुप लागें । उसले सोच्यो मैले फोन राखिसकें । उसको पछाडिबाट आवाज आयो “को हो ?” उसले भन्यो ” रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ स्साला ….!”

म सत्ता र शक्तिमा हुँदा प्राय:ले भन्ने गर्थे ” यो साहित्य वाहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !” मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ ।

त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ । (पूर्व डिआइजी शाहको फेसबुक पेजबाट साभार । उनी मदन पुरस्कार विजेता साहित्यकार हुन् )