नेकपा स्थायी कमिटी बैठक स्थगित गर्नुको रहस्य अर्कै
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आइरहेको छ । असार २० गतेबाट पकटपटक स्थगित हुँदै आइरहेको बैठक पछिल्लो पटक भने बाढी पहिरो र विपदको समय भन्दै सात दिनको लागि स्थगित गरिएको थियो ।
प्राकृतिक विपदको नाममा एक हप्तापछि सारिएको बैठक स्थगित हुनुको नयाँ रहस्य भने अर्कै भएको खुलेको छ । चर्किएको विवादले एकदमै जटिल मोड लिएपछि अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादविहिनताको अवस्था बनेपछि पार्टी पंति नै चिन्तित बनेको थियो ।
दुवै अध्यक्षले आफ्ना अडान नछाडेपछि सहमतिका आधारहरू नै सकिएको, थप संवाद गर्ने स्थिति नरहेको र पार्टी दुर्घटना हुने निश्चित भैसकेको अवस्थामा बैठक स्थगित गर्नुको विकल्प नरहेको एक स्थायी कमिटि सदस्यले बताए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीले दुवै पदबाट राजिनामा गर्नुपर्ने अडान लिएका थिए । यता अर्का अध्यक्ष अोलीले भने आफूले अर्को चुनवा र महाधिवेशन अगाडि दुवै पद नछोड्ने अडान कायम राखेका थिए ।
पार्टीको स्थायी कमिटि बैठक स्थगित हुनुमा नेकपा अध्यक्षद्वयबीच बोलचाल नै बन्द हुनेगरी बढेको दुरी, सकिएका समाधानका विकल्प नै भएको र नयाँ सिराबाट छलफल प्रारम्भ गर्नकै लागी । आजको बैठक स्थगित भएपछि दुई अध्यक्षबीचको भेटवार्ता पनि अनिश्चित भएको छ ।
‘प्राकृति विपत्तिलाई देखाएर बैठक फेरि ७ दिन पर धकेलियो । यो नेतृत्वको बहाना मात्र हो । प्राकृतिक विपत्तिले बैठकलाई असर पार्दैपर्दैन नि !,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको विवाद अन्त्य नगरी कार्यकर्ताहरुलाई निराश बनाउने काम हुँदैछ । यसले पार्टी एकतामा गम्भीर असर पार्ने देखिन्छ ।’
बहमुत स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेकाले लगातार बैठक स्थगित गरेको नेकपाका एक नेताले बताए । उनले प्रधानमन्त्री अोली समस्यासँग भाग्ने काम गरेकाले समस्या थप जटिल बन्ने बताए ।
दुवै अध्यक्षले आ–आफ्नो अडान नछोड्दा पार्टीभित्रको विवादले थप उग्र रुप लिएको स्वयं नेकपाका नेता स्वीकार गर्छन् । उनीहरु नेतृत्वमा पदमोह बढ्दै गएकाले पार्टी एकता नै संकटमा पर्ने चिन्ता व्यक्त गर्छन् ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्र हित र स्वाधीनताका लागि सक्षम पार्टी बनाउन आवश्यक रहेको बताए । उनले पार्टीभित्रको समस्या वार्ता र संवादको माध्यमबाट हल गर्नुपर्नेमा गालीगलौज गर्दा थप समस्या निम्तिने बताए ।
त्यस्तै नेकपा प्रवक्ता श्रेष्ठले पनि पार्टीको विवाद समाधानक लागि सामूहिका निर्णय लिन अध्यक्षलाई सुझाव दिएका छन् । उनले छलछाम नगरी आफ्नै विवेक प्रयोग गरेर समस्याको हल गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
त्यस्तै अर्का स्थायी समिति सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्रीको राजीनामा माग्ने चरणमा नेताहरु रहेको बताएका छन् ।
त्यस्तै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीले दुबैमध्ये एक पद पनि छोड्न सम्भव नरहेको बताएका छन् । उनी अहिलेको अवस्थामा प्रधानमन्त्रीको विकल्पमा लाग्नु ठूलो भूल हुने चेतावनी दिन्छन् ।