केशव स्थापितलाई निर्वाचन आयोगको २४ घण्टे अर्को पत्र - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

केशव स्थापितलाई निर्वाचन आयोगको २४ घण्टे अर्को पत्र



काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापितले लगातार विवादित अभिव्यक्ति दिएका कारण निर्वाचन आयोगको निसानामा परेका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उम्मेदवार स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ ।

आइतबार उनले बोलेको विषयप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं महानगर प्रमुखका अर्का उमेदवार बालेन साहको विषयमा ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ भन्ने अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेस गर्न भनेको छ ।

स्थापितले बोलेको विषय निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२ (प) अनुकूल नभएको आयोगले जनाएको छ ।

सोमबार जारी आयोगको पत्रमा भनिएको छ, “आचारसंहिता, २०७८ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२, जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड (प) अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरढण पेस गर्नुहुन निर्णायानुसार अनुरोध छ ।”

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ र १३ साथै स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३१ र ३२ बमोजिमको योग्यता पुगेको व्यक्ति उमेदवार हुन पाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

यसअघि, सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।