स्थापना दिवसकै दिन ओली र प्रचण्डले एक अर्कालाई किन यस्तो भने ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

स्थापना दिवसकै दिन ओली र प्रचण्डले एक अर्कालाई किन यस्तो भने ?



काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दल वा पार्टीको केन्द्रीय समिति मध्ये एकमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने अध्यादेश पार्टीमा छलफल नै नगरी ल्याएपछि नेकपा भित्रको विवाद यतिबेला उत्कर्षमा छ । यही विवाद चर्किरहेको बेला दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपालले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको अवसरमा जारी तिनै नेताको विज्ञप्तीमा पार्टी एकता सुदृढ पार्न अपिल गरिएको छ । यद्यपी तिनै नेताले एकअर्कालाई लक्षित गरेर छेडखानी समेत गरेका छन् । आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यस अवसरले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु-याउन प्रेरणा दिने बताएका छन् ।
अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्न पनि छोडेका छैनन् ।

उनले भनेका छन्, ‘सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।’ जनयुद्धलाई सिद्धान्तको अन्धानुकरण र जनताको बहुदलीय जनवादलाई सिर्जनात्मक प्रयोगको रुपमा ओलीले व्याख्या गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकताको महत्वलाई बुझेर र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न अपिल गरेका छन् । प्रचण्डले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागेको उल्लेख गरेका छन् ।
प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् । उनले ओलीप्रति लक्षित गदै भनेका छन्, ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ ।’

वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न अपिल गरेका छन् । व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नहुन नेपालले अपिल छ ।

नेता नेपालले दुबै अध्यक्षप्रति लक्षित गर्दै भनेका छन्,‘ व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्य:

‘आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। आज अप्रिल २२, आजकै दिन विश्वमा दूरगामी महत्वको परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो।

यस विशेष दिनको अवसरमा म विश्व क्रान्तिका नायक, भ्ला. ई. लेनिनप्रति भावपूर्ण श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु। पार्टी स्थापना भएको आजको विशेष दिनमा म संस्थापक महासचिव कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु।

सात दशकको अवधिमा लेनिनले स्थापना गर्नुभएको सोभियत संघ विघटन भयो। तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशक भित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो।

वितेका यी बर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आयो। अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरह्यो। पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो। सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो। कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो।

पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यहरुका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गर्दछु। सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने आदरणीय सहिदहरु, निष्ठापूर्वक निरन्तर समर्पित कमरेडहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायहरुको उच्च सम्मान गर्दछु।

लेनिन जयन्ती तथा पार्टी स्थापाना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु।

नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति म हार्दिक कृतज्ञता समेत जाहेर गर्दछु।
१० वैशाख २०७७

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यः

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वसन्तमा प्रवेश गरेको छ। यस ऐतिहासिक दिनमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। सम्पूर्ण बेपत्ता र घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ। कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन्। प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको छ। यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु।

परन्तु, ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन्। प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो। पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ। यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको छ। तसर्थ, सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपील गर्दछु। अन्त्यमा नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

१० वैशाख, २०७७ (२२ अप्रिल, २०२०)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालको वक्तव्यः

२२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको ७१औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव कमरेड पुष्पलाललगायत संस्थापकहरूको स्मरण गर्दै यस आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपुऱ्याउन जीवन आहुति गर्नुहुने सहिदहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, कम्युनिस्ट आन्दोलनमार्फत आमूल परिवर्तनका लागि जीवन समर्पण गर्नु हुने नेता–कार्यकर्ता एवं साथ र समर्थन गर्नुहुने आदरणीय जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको वेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको छ । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिस्ट पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि हो । नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई बलियो तुल्याउनका लागि हो । यस सन्दर्भमा कम्युनिस्ट आन्दोलनका विगतमा टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु यतिवेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी हो । बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेबारी कुशलताका साथ पूरा गर्न सकिन्छ ।

राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्धति तथा संगठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरूबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ । यसर्थ, यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आह्वान गर्दछु । हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकाैँ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रूपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु । व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।

कोभिड– १९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको वेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्छ । यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम–कुरा हुनुहुँदैन । विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरूको पालना गर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जन सेवाको भावनाबाट अग्रसर हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु ।

                                                           माधवकुमार नेपाल
                      पूर्वप्रधानमन्त्री  तथा  वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी