स्थानीय तह र विपद् व्यवस्थापन सम्बन्धी संस्थाले अभिमुखिकरणलाई प्राथमिकता दिदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्थानीय तह र विपद् व्यवस्थापन सम्बन्धी संस्थाले अभिमुखिकरणलाई प्राथमिकता दिदै



गोविन्द बीसी / बौनिया ।

स्थानीय तह तथा विपद् सम्बन्धी काम गर्ने संस्थाले विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन । कैलालीको बर्दगोरिया गाउँपालिकाको आयोजनामा विपद्  ब्यवस्थापन तथा जलवायू परिवर्तन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

डीएफआईडी (युके)/बिआरएसीईडीको आर्थिक सहयोगमा आईडीई नेपालको साझेदारीमा सिर्जनशिल समाजको सिर्जना (सीसीएस) द्वारा अनुकूलन ५ परियोजना अन्तर्गत कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नम्बर-३ मा रहेको जगदम्बिके भगवती माविमा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण सीसीएस कैलालीका लापा लिड (प्रशिक्षक) खडक बहादुर बिकले गरेका थिए ।

हरेक वर्ष वर्षायाममा आउने बाढीपहिरोको कारण हुने क्षति र यसको न्यूनीकरणका लागि अपनाउन सकिने उपाय, पूर्व सतर्कताका विषयमा कार्यक्रममा छलफल गरिएको छ । वडा स्तरीय कार्यक्रममा वडाका जनप्रतिनिधि,विभिन्न सामाजिक संघ संस्था प्रमुख र प्रतिनिधि गरी १९ जनाको सहभागिता रहेको थियो । सहभागीलाई आइतबार र सोमबार गरी दुईदिनसम्म प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बाढीबाट हरेक वर्ष हुने परिवर्तित जलवायूको उच्च जोखिमबाट कसरी सुरक्षा अपनाउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको छ ।

नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाढीबारे सुरक्षा सतर्कता अपनाउन के गर्न सकिन्छ ? जनधनको क्षति कम गर्न र प्रभावित क्षेत्रमा कसरी राहत र उद्दार गर्न सकिन्छ भन्ने बारे जानकारी दिएको थियो । कार्यक्रममा स्थानीय क्षेत्रमा हालसम्म भएको बाढीपहिरोको क्षतिको अवस्था र न्यूनीकरणका उपाए बारे समेत छलफल गरिएको थियोे ।

कार्यक्रममा सहभागीले नदीका कारण हरेक वर्ष खेतीयोग्य जमिन कटान भइ घर बस्तीनै बिस्तापित हुदै आएको भन्दै सरोकारवाला निकायको ध्यान जानुपर्नेमा जोड दिएका छन् । उनीहरुले नदीमा आउने बाढीले चौतर्फी गाउँबस्ती नै जोखिममा रहेकाले केन्द्रीय स्तरबाट नदी तटबन्धनको बजेट योजना आवश्यक भएको बताए । नदीमा आउने बाढीले नेपालको ६८ प्रतिशत भूभाग पहाडमा, १७ प्रतिशत तराई र १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रमा पर्छ । वर्षाका बेला तराई तथा पहाडी क्षेत्र सबैभन्दा बढी जोखिममा रहेका छन् । पहाडमा पहिरोको जोखिम बढी छ भने, तराईमा बाढी र डुबानको जोखिम रहेको छ । त्यस्तै; दुन, भावर र तराई मधेशका नदी किनारका घरहरू पनि बाढीका दृष्टिकोणले जोखिममा छन् ।