स्थानीय चुनावमा ‘धनप्रसाद हजुरबा’को जय !
करिब बिस वर्ष अगाडी गाविस अध्यक्ष भैसकेका एक जना वृद्ध आक्कल झुक्कल घर नजिकै धनप्रसाद चोकको चियापसलमा भेटिन्छन । बुढा त्यो चोकको बिचमा रहेको बुढो पिपलमा कांटीको सहारामा ठोकिएको बोर्डमा लेखिएको ‘धनप्रसाद चोक’ नाम देखेर औधी खुसी हुन्छन् । उनी गाविस अध्यक्ष हुँदाताका त्यो गाविसका नौ वटै वडामा उनको यति धेरै मान सम्मान र विश्वास थियो की गाउँलेहरूले उनलाई बोलाएर आफ्नो गोठमा लैजान्थे र सोध्थे, “भैंसी ब्याँउछ की नाई होला ?”
उनले ढ्याप्प भैंसीको पिठमा हातले हानिसकेपछी ब्याउँछ भने खुसी भएर या ब्याउन्न भने दुखी नै सही, मान्छेहरूले अक्षता उनको निधारमा टाँसिदिएर खुट्टा ढोग्थे, फुल बर्षाउँथे । तर दुर्भाग्य उनले त्यसपछि कुनै चुनाव लड्न पाएनन । पार्टीले टिकट दिएन । दुई दुई वटा संविधानसभाको निर्वाचनमा उनी निष्कृय रहे । अहिले ७० प्रवेश गर्नै लाग्दा उनको बुढ्यौली सल्बलाएको छ स्थानीय निकायको चुनाव सुनेर ।
उनले त्यतिबेलै एउटा छोरालाई इन्स्पेक्टर बनाएका थिए भने अर्को छोरोलाई युके पढ्न पठाएका थिए । उनको दैनिक देखिने आम्दानी केही नभएपनी भरपुर खर्च गर्थे । कहीँ कतै कुनै बालक्लब, खेलकुद क्लब, आमासमुहको कार्यक्रममा सम्मानको लागी बोलाएर खादा ओढाउन नपाउँदै उनले रकम बोल्थे । पाँचहजार, दशहजार या ठुलै महायज्ञहरुमा लाखको आँकडामा पनि बोल्ने गर्दथे ।
उनका छोरा छोरीहरुको कुरै छोडौं, नातिनातीनाहरुको पनि मतदाता परिचयपत्र बनिसकेको छ । देश विदेश घुमेका छन्, अहिलेको सूचना प्रविधीसंग एकदमै नजिक छन् । बेलाबखत भेट हुँदा उनीहरूले हजुरबालाई नै चुनाव जिताउनुपर्ने र वहाँले जस्तो यो ठाउँको विकास अरू कसैले गर्न नसक्ने बताउँछन् ।
चियापसलको एउटा कुनामा पुरानो काठको मुढामा बसेर झर्न बाँकी रहेका केही दाँत देखाएर फिस्स हाँस्दै उनले गाउँपालिकाको भावी योजना सुनाउँछन् । उनको घोषणापत्र नै उनको मुख हो । त्यति बेला काशी गएर मध्यमा उत्तीर्ण गरेका उनी आजको मितिसम्म पनि आफ्नी श्रीमतीले बाहेक अरूले पकाएको खाँदैनन । लेख्न पढ्न बिर्सिसकें भन्छन् । त्यति बेला डेढ सय मुरी फल्ने उनको अब्बल खेत अहिले धेरै बाँझो छ । २ रोपनी उनले आफ्नो खेत जोत्ने हलीको छोरोलाई कुखुरा पाल्न दिएका छन् । त्यही नरे कामी र उसको बाउले उनको सकेजती खेतबारी गर्छन् ।
नातिनातिनाहरु कहिले कहिले चाडपर्वको बेलामा घर आएर पारिवारिक जमघटमा सामेल हुन्छन् । त्यो घरमा काम गर्ने नरे कामीको पटपटी फुटेका हात, कलेटी परेको अनुहार र चाँया परेको कपाल देखेर नातिनातिनाका आमाहरुले आफ्ना छोराछोरीहरुलाई भित्र लग्छन र भन्छन्, “यो कामीको वरिपरि नबस्नु, रोग लाग्छ ।” बदलामा नरे कामी मुसुक्क हाँस्छ र गोठतिर भकारो सोहोर्न तर्फ लाग्छ । करेसाबारीको खुर्सानी गोड्छ, र भर्खर रोपिएका किवीका बिरुवाहरुमा पानी हाल्छ ।
उनको घर भन्दा आधा घण्टा माथि कामीडाँडा छ । नरे कामी र उसको बाउ त्यही कामीडाँडाबाट उनको घरमा काम गर्न आएका हुन । त्यहाँ करिब ५५० जति मतदाताहरु छन् । यसको अर्थ त्यो गाउँ कसलाई जिताउने र कसलाई हराउने भन्ने निर्णायक मत बन्न सक्छ । त्यो कामीडाँडामा उनको पार्टीबाट एउटा प्रतिनिधि छ सुर बहादुर चमार । उसलाई कहिले कहिले घर बोलाएर उनले सय पचास थमाईदिन्छन । बाह्र पास गरेर छोडेको सुरेले त्यसपछि पैसा अभावको कारणले पढ्न सकेन । सुरे त्यो गाउँको नेता हो । द्वन्दकालमा केही माओवादी बनेर गए पनि उनीहरूको आर्थिक स्थिति झन् खस्किएपछी त्यही गाउँमा फर्केर मेहेनेत गरेर बसेका छन् । सुरे कहिले कहिले दलित प्रतिनिधि बनेर गाविसबाट जिल्ला सम्म पनि पुग्ने गरेको छ ।
यसपालि कामिडाँडाका सबै एकमत भएका छन् भोट पहिलाकै गाविस अध्यक्षलाई हालेर जिताउनुपर्छ भनेर । नरेको काका चाहिँ बाहिर बाहिर उनको विपक्षमा बोल्ने हुँदा इन्स्पेक्टर भएको छोराले फोन गरेर चौकी बोलाएछन । माओवादी भनेर जेलमा सडाइदिने धम्की पछि नरेका काका आजकल खासै बोल्दैनन ।
गाउँपालिकाको घोषणा भैसकेपछी अहिलेका गाविस सचिवले बुढालाई बधाई दिएका थिए, “बा ! एक पटक फेरि हाम्रो गाउँपालिकाले तपाईँलाई जिम्मेवारी सुम्पँदै छ ।”
बढुवा भएर एसपीको जिम्मेवारीमा बसेका उनका छोराले कहिले कहिले गाउँमा फोन गरेर गाउँका बेरोजगार केटाहरुलाई जम्मा पारेर नाराजुलुश गर्न भन्छन् । अस्ति मात्र बुढाले आफ्नो पोस्टर छपाउने अर्डर गरेका छन् दुई हजार प्रति, भावी गाउँपालिका अध्यक्ष भनेर । पर्चा पम्प्लेट, पोस्टर हरू गाउँका नौ वटै वडाहरुमा टाँस्ने व्यवस्था भैसकेको छ । घर नजिकैको बारीमा दैनिक भोजनालय सञ्चालन गर्ने तयारी पुरा भैसकेको छ । चारवटा ठुला टेन्ट राखिनेछ, एउटा शुद्ध बाहुनहरुको लागी, अर्को क्षेत्री ठकुरीहरुको लागी, अर्को मगर गुरुङ हरुको लागी र बारीको तलपट्टि खोलाको नजिकै कामीडाँडाका मान्छेहरूको लागी टेन्ट गाड्ने कुरा छ ।
करिब दशबर्ष एउटा नजिकैको माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खाएका उनी, पछिल्लो कार्यकालमा जिल्लाले कम्प्युटरको लागी बिनियोजन गरेको बजेटबाट ल्याइएका छ वटा कम्प्युटरमध्ये एउटा स्कुलमा छोडेर बाँकी पाँचवटा घरको भण्डार कोठामा राखेका थिए । मुसाले धान भन्दा कम्प्युटरको तार मिठो मानेपछी र सिपियु भित्र बच्चा पाउन र हुर्काउन सुविधा मानेपछी श्रीमतीले चारवटै सिपियु लगेर गोठको भैंसी बाँध्ने किलोको वरिपरि अलि अलि माटोले पुरेर राखिदिइन । पातलो ढुङ्गाको काम गर्ने र भैंसीले नखाएको घाँस सफा गर्न सजिलो हुन्छ भनेर त्यो उपाय अपनाएकी थिइन । एउटा डेस्कटप बुढाको कोठामा राखिएपनी त्यो कहिल्यै अन हुन पाएन ।
गतबर्षमा सम्पन्न भएको गाउँपरिषदको भेलामा बजेट बिनियोजन गर्ने क्रममा बुढा च्याँट्ठिएका थिए । दलितहरुको लागी भनेर छुट्ट्याइएको बजेट आफ्नो खेतबाट जाने बाटोमा हाल्न नपाएपछी पागल बनेका बुढालाई सचिवले केन्द्रबाटै त्यहाँका दलितका छोराछोरीहरुलाई कम्प्युटर तालिमको व्यवस्था गर्नु भनेर तोक आएको कुरा बताए । तर उनी मानेनन, उनको तर्क थियो, दलितहरुलाई सुँगुरका पाठा किन्दिनुपर्छ । उनको अगाडि कसैको केही लागेन, फलस्वरूप तीन दर्जन बङ्गुरका पाठाहरु किनिदिने सहमति भयो तर त्यसलाई एकदर्जन कम्प्युटर किनिदिएको र एउटा मास्टरलाई महिनाको पाँचहजार दिने सर्तमा कम्प्युटर कक्षा सञ्चालन गरेको प्रतिवेदन पठाएपछी त्यसलाई स्वीकृत गराएर जिल्लाबाट पुनः पढाउने भवनको स्तरोन्नति गर्न भनेर रकम माग गरियो ।
पुरै गाउँपालिका भरी र विशेष गरेर कामीडाँडामा अहिले हर्षोल्लास छ । गाउँपालिकाभरीका आमासमुह, खेलकुँद क्लब, उपभोक्ता समिति र दुईवटा विद्यालय जसमध्ये एउटा प्रावि पनि छ त्यहाँ बुढा नै अध्यक्ष बन्ने कुराले रौनकता छाएको छ । गाउँपालिका मध्ये ४ र ७ नम्बर वडामा पानीको ट्यांकी मरम्मत गर्नुपर्ने भएकोले त्यसको लागी बुढाकै रोहवरमा बनेको समितिले उनको बाउको स्मारक सहित ट्यांकी निर्माण गर्ने काम थालिसकेको छ ।
एक हुल मान्छे चौपारीमा भेला गरेर आफ्नो ठुलो पोस्टर सार्वजनिक गर्दै बुढाले थोते बोलीमा सानो भाषण दिन्छन्, “हामीले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्दै आइरहेका छौँ ।” २०३६ सालमा पुलिससंग भिड्दा पिँडुलामा लागेको खत देखाउन सुरुवाल माथि तान्दै बुढा जोसिन्छन, “यो रगत मैले यत्तिकै बगाएको हैन, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको लागी बगाएको हो ।” परर ताली बज्छ । अनि उनको नातिले हातमा गोलो पारेर पट्याएको उनको तस्बिर खोल्दै भन्छ, “हजुरबा धनप्रसाद को जय !”
ईश्वर अर्याल