प्रधानमन्त्रीलाई योगेशको जवाफ: 'स्तर थाहा पाएँ, खुशी लाग्यो’ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

प्रधानमन्त्रीलाई योगेशको जवाफ: ‘स्तर थाहा पाएँ, खुशी लाग्यो’



काठमाडौँ– नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई धोका दिएर लात्ताले हानेको भन्दै व्यंग्य गरेपछि उनले जवाफ फर्काएका छन् ।

शनिबार नेकपा ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो! पुक्क लात्ताले हानेर भाग्यो’ भन्दै व्यङ्ग्य गरेका थिए। तर उनले योगेश भट्टराईको नाम लिएका थिएनन्।

पूर्वमन्त्री समेत रहेका भट्टराईले आफूलाई केटो भन्दा दुःख नलागेको बरु प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।

ओलीले २०७४ सालको निर्वाचनमा ताप्लेजुङमा आयोजित योगेश भट्टराईको चुनावी सभामा सम्बोधन गर्नै उनलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाउने प्रतिवद्धता जनाएका थिए।

तर जनताले जिताएर पठाए पनि सुरुवाति मन्त्रिपरिषदमा भट्टराई अटाएका थिएनन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि भने उनको ठाउँमा ओलीले भट्टराईलाई मन्त्री बनाएका थिए।

तर गत पुष ५ गते प्रधानमन्त्रीले संसद भंगको कदम चालेपछि भट्टराईले राजीनामा दिएका थिए। उनी अहिले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहमा छन्।

शनिबारको कार्यकर्ता भेलामा ओलीले भनेका थिए, ‘दौडादौड गरेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु भनेर, मन्त्री पनि बनाएँ। एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ!’

जवाफ दिँदै योगेशले भनेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ, खुशी लाग्यो।’