निर्मला हत्याकाण्ड: एसपी विष्टको डीएनए मिलेन, अब के होला ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

निर्मला हत्याकाण्ड: एसपी विष्टको डीएनए मिलेन, अब के होला ?



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए रिपोर्ट सार्वजनिक भएको छ । कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाका अनुसार तीनैजनाको डीएनए रिपोर्ट निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मेल खाएको छैन ।

तीनैजनाको रिपोर्ट काठमाडौंबाट शुक्रबार नै कञ्चनपुर पठाइएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको महिनादिनसम्म पनि अपराधी पत्ता नलागेपछि स्थानीय प्रहरी र उनको परिवारसँगै असन्तुष्ट थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित उनका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गराएको थियो ।

‘‘उहाँ (विष्ट) आफैँ विवादमा आएपछि डीएनए परीक्षणका लागि तयार हुनुभएको हो । उहाँलाई प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । त्यसपछि उहाँ आफैँ डीएनए परीक्षणका लागि तयार हुनुभएको थियो । उहाँको रगत निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच खाएन,” प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी भीमदत्तनगर २ उल्टाखामकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर गरेको भएपनि प्रहरीले खोजी कार्यमा लापरवाही गरेको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भएपनि हत्याराको पहिचान अझै हुन सकेको छैन । यसअघि प्रहरी ४ भदौमा दिलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर उनको डीएनए परीक्षण पनि ‘म्याच’ नभएपछि उनी छुटेका थिए ।

प्रहरीले दिलिपलाई नक्कली अभियुक्त बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि औंल्याएको छ । प्रतिवेदनमा हत्यापछि प्रमाण लुकाउन एसपी विष्टको संग्लनताको आशंकासँगै त्यसमा सीआईबीका डीएसपी अंगुर जिसी लगायतले सघाएको उल्लेख छ । कञ्चनपुरमा शनिबारदेखि हरिप्रसाद मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलन सुरु भएको छ ।

निर्मला पन्तको हत्यापछि घटनाको मुचुल्का तयार पार्ने दिनमा भारतमा रहेका आफ्ना बुवाको औंठाछाप मुचुल्कामा रहेको पाइएपछि प्रहरीको गम्भीर त्रुटि रहेको भन्दै स्थानीय थप आक्रोशित बनेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापाले पनि हत्याको समयमा निर्मलाले लगाएका कपडासमेत अहिलेसम्म फेला पार्न नसकिएको बताएका थिए ।

एकअर्कालाई चिन्दैनन् आयुस र एसपीका छोरा

निर्मला हत्याकाण्डमा तत्कालीन एसपी विष्टका छोरा किरण र स्थानीय आयुस विष्टको नाम पनि उक्त घटनामा जोडिएको थियो । साउन १० गते एसपी विष्टका छोराको जन्मदिन थियो । किरणले महेन्द्रनगरमै रहेको होटल ओपेरामा जन्मदिन मनाएका थिए । होटल ओपेरामा जन्मदिन मनाएको सीसीटिभी फुटेज नभेटिएको भएपनि त्यो दिन एसपीका छोरा किरणसहित २ जना युवा र ३ जना युवती रहेको स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतले भन्यो, ‘‘किरणले फोटोसुट गरेको देखियो । फोटोमा निर्मला होइन अरु ३ जना युवतीहरु थिए ।’’  किरणले जन्मदिनमा लिइएका तस्बिर प्रहरीलाई उपलब्ध गराएका थिए । प्रहरी अनुसन्धानका क्रममा किरण र मेयरका भतिजा आयुसबीच चिनाजानसमेत नभएको खुलेको छ ।