चरम आर्थिक संकटमा श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

चरम आर्थिक संकटमा श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा



काठमाडौं – खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका सबै २६ मन्त्रीहरूले राजीनामा दिएका छन्। तर प्रधानमन्त्री महिन्दा राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरू कर्फ्युका बीच प्रदर्शन गर्दै आएका छन्।

कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरिरहेका छन्। श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक संकटसँग जुधिरहेको छ।

पत्रकारहरुसँग कुरा गर्दै शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापाक्षेसमक्ष मन्त्रिपरिषदका मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए। तर उनले यो सामूहिक राजीनामाको कुनै कारण भने खुलाएनन्। तर, राजनीतिक विश्लेषकहरूले मुलुकमा देखिएको आर्थिक सङ्कटसँग जुध्ने सरकारको ‘पद्धति’लाई लिएर मन्त्रीहरूमाथि ठूलो जनदबाब रहेको बताएका छन्।

आइतबार साँझ पनि श्रीलंकाको सडकमा आमजनताले व्यापक विरोध प्रदर्शन गरेका थिए। देशको वर्तमान अवस्थाबाट आक्रोशित जनताले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन्।

मार्च ३१ मा आक्रोशित प्रदर्शनकारीहरूले गोटाबाया राजापाक्षेको निजी निवासलाई घेरा हालेर बस र सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि सरकारले देशमा संकटकाल घोषणा गरेको थियो। तर सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आइतबार आन्दोलनका लागि सडकमा उत्रने घोषणा गरेका थिए। त्यसपछि सरकारले ३६ घण्टा कर्फ्यु लगाएको थियो।

आइतबार साँझदेखि राजनीतिक वृत्तमा राजपाक्षेले आर्थिक संकटसँग जुध्न अन्तरिम सरकारको विकल्प रोज्न सक्ने चर्चा चलिरहेको थियो।