श्रीलङ्का बिस्फोट : भारतलाई गोप्य जानकारी कसरी भयो ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

श्रीलङ्का बिस्फोट : भारतलाई गोप्य जानकारी कसरी भयो ?



श्रीलङ्कामा २१ अप्रिलमा भएको चरमपन्थी हमलाको अनुसन्धान जारी छ । यसैबीच यो हमलालाई रोक्न सकिन्थ्यो तर किन नरोकेको भनेर प्रश्न तेर्सिरहेका छन् । प्रश्न यसकारण उठिरहेको छ किनभने हमला हुनु दुई हप्ताअघि भारतले श्रीलङ्कालाई यसबारे सूचित गरेको थियो ।

भारतीय मिडिया रिपोर्टलाई मान्ने हो भने यदि श्रीलङ्काली अधिकारीले समय हुँदा नै भारतबाट पाएको सूचनामाथि कारवाही गरेको भने उक्त श्रृङ््खलाबद्ध हमला रोक्न सकिन्थ्यो ।

आतंकवाद विरोधी मामलामा अमेरिका र अन्य देशलाई सल्लाह दिने अष्ट्रेलियाकी लिडिया खलिल पनि यो हमला निश्चित रुपमा रोक्न सकिने बताउँछिन् ।

आतंकवाद विरोधी मामलाका जानकार भारतीय पत्रकार प्रविण स्वामीले भारतीय गुप्तचर अधिकारीले आफ्ना श्रीलङ्काली समकक्षीलाई चर्च र पर्यटन स्थलमा सम्भावित षड्यन्त्रको विषयमा सचेत गराएको दस्तावेज आफूसँग भएको दाबी गरेका छन् ।

सुरक्षा विशेषज्ञलाई यो कुराको आश्चर्य छ कि भारतमार्फत् दुई हप्ताअघि गोप्य रिपोर्ट पाउँदासमेत आइतबारका दिन हमला हुनुले यो कुरा स्पष्ट पार्छ कि श्रीलङ्काली अधिकारीले यसमाथि कुनै कारवाही गरेका थिएनन् ।

श्रीलङ्काको सरकारले भारतको नाम नलिइकनै चरमपन्थी हमलाको विषयमा एउटा देशले सूचना दिएको भन्ने जानकारी दिएको थियो ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले भने, ‘जुन सुरक्षा अधिकारीले विदेशी राष्ट्रबाट गोप्य जानकारी पाएका थिए, उनीहरुले त्यो कुरा मसँग सार्वजनिक गरेनन् ।’

श्रीलङ्कालाई गोप्य जानकारी साझा गरिरह्यो भारतः

प्रविण स्वामीका अनुसार भारत र श्रीलङ्काबीचको राजनीतिक सम्बन्ध सधैं सौहार्द नहुँदा पनि दुई देशको गुप्तर विभाग सुरक्षासँग जोडिएका सूचना एक–अर्कासँग सधैं साझा गरिरहे ।

उनी भन्छन्, ‘मेरो विचारमा, राजनीतिक तनावका बावजुद दुई देशबीचको गुप्तचर एजेन्सीबीच बलियो सम्बन्ध छ । केही श्रीलङ्काली राजनेतामाथि रअको गम्भीर आरोपका बाबजुद दुबैबीच सम्पर्क रहँदै आएको छ र उनीहरुले सहकार्य जारी राखेका छन् ।’

दिल्लीस्थिती सुरक्षा विशेषज्ञ सुशान्त सरिनका अनुसार सन् १९९१ मा भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीको हत्यापछि दुई देशबीच गोप्य जानकारी साझा गर्ने काम थप नियमित भयो । लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटिटिई), जसलाई तमिल टाइगर्सको नामले पनि चिनिन्छ, लाई राजिव गान्धीको हत्याको जिम्मेवार ठहराएको थियो ।

उनी भन्छन्, ‘श्रीलङ्कासँग सूचना साझा गर्नु भारतको राष्ट्रिय सुरक्षा हितमा छ ।’

भारतले जे जानकारी दियो, हमलाकर्ता त्यही निस्किएः

सरिनका अनुसार भारतको रअजस्ता गुप्तचर एजेन्सी सुरक्षाका कारण अन्य देशसँग पूरा जानकारी कहिले पनि साझा गर्दैनन् तर कारवाही योग्य जानकारी पक्कै उपलब्ध गराउँछन् । तर इस्टर सन्डेको दिन श्रीलङ्कामा भएको हमलाको मामलामा भारतीय गुप्तचर एजेन्सीले निकै सटिक जानकारी उपलब्ध गराएको थियो ।

स्वामीका अनुसार सम्भावित घटनाको जानकारीमा केही सम्भावित संदिग्धको नाम र ठेगानासम्मको विवरण थियो, जसमध्ये कोही वास्तविक हमलाकर्ता साबित भए ।

त्यसकारण श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले सुरक्षा एजेन्सीको स्तरमा ठूलो परिवर्तनको बचन दिएका छन् ।

उनले भने, ‘विदेशी राष्ट्रबाट पाएको जानकारी आफूमा मात्र सिमित राखेर भयानक गल्ती गरेका अधिकारीविरुद्ध मैले ठूलो कारवाही गर्ने निर्णय गरेको छु ।’

यसैबीच श्रीलङ्काली मिडियाले स्थानीय इस्लामिक संगठन नेशनल तौहिद जमात (एनटीजे) का सदस्यको यो हमलामा संलग्नता बारे भारतलाई कसरी थाहा भयो भनेर प्रश्न सोधिरहेका छन् । श्रीलङ्काली गुप्तचर एजेन्सीसँग यो हमलाको कुनै जानकारी किन थिएन ? उनीहरु भारतीय गुप्तचर एजेन्सीबाट पाएको हमलाको जानकारीमाथि अधिकारीको उदासिनतामाथि पनि प्रश्न उठाइरहेका छन् ।

भारतसँग यस्तो जानकारी कहाँबाट आयो ?

तर भारतीय एजेन्सीसँग श्रीलङ्कामा सम्भावित हमला र संदिग्धबारे यति सटिक जानकारी कसरी आयो ?

यसै वर्ष श्रीलङ्काको एक दूर दराजको खेतमा १०० किलो बिस्फोटक र गोलाबारुद भेटिएपछि नेशनल तौहिद जमात (एनटिजे) भारतीय र श्रीलङ्काली एजेन्सीको रडारमा थियो ।

स्वामीका अनुसार यो इलाका कथित जेहादिहरुको तालिम मैदान भएको बताइन्छ र उनीहरुले एनटिजे देशका केही बौद्ध स्मारकलाई ध्वस्त बनाउने योजना बनाइरहेका थिए ।

सरिनका अनुसार अन्य देशबारे यति धेरै जानकारी हासिल गर्नु गुप्तचर विभागका लागि कुनै असामान्य कुरा होइन ।

उनी भन्छन्, ‘मैले सुने अनुसार हालै रअका एक संदिग्धसँ सोधपुछ चलिरहेको थियो र त्यति नै बेला श्रीलङ्कामा श्रृङ्खलाबद्ध बिस्फोटको जानकारी उनले पाए ।’ जुबैर अहमद /बीबीसी