श्रीलंका र अस्ट्रेलिया ११ औं पटक भिड्दै : को छ बलियो ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

श्रीलंका र अस्ट्रेलिया ११ औं पटक भिड्दै : को छ बलियो ?



काठमाडौं— अंकतालिकाको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत शनिबार लन्डनमा कमजोर श्रीलंकाविरुद्ध उत्रँदा आफ्नो अनुकूल स्थितिलाई अझै मजबुत बनाउने प्रयास गर्नेछ ।

४ खेलमा ३ जितका साथ अस्ट्रेलिया अहिल्यैदेखि शीर्ष चारको बलियो दाबेदारका रूपमा देखिसकेको छ । तर यो सुरुआती चरणमात्र हो । श्रीलंकाविरुद्ध ओभलमा हुने खेलमार्फत उसले सुरुआती फाइदा उठाउने अभियानमा छ ।

शतप्रतिशत प्रदर्शन नदेखिए पनि अस्ट्रेलियाले अधिकांश खेलमा जित हासिल गरेको छ, यो उसको सुखद पक्ष हो । उसको प्रदर्शन सन्तुलित भने अवश्य छ । डेविड वार्नरले पाकिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङका साथ शतकीय योगदान गरेका थिए । अस्ट्रेलियाको शीर्ष क्रममा एकरूपता देख्न थालिएको छ । सुरुआती खेलहरूको प्रदर्शनले मध्यक्रम पनि उत्तिकै शक्तिशाली छ ।

श्रीलंका र अस्ट्रेलिया विश्वकपमा ११ औं पटक मैदानमा आमुन्नेसामुन्ने हुँदै छन्। कंगारु टिमविरुद्ध श्रीलंकाले पछिल्लो जित १९९६ मा विश्वकपको फाइनलमा हात पारेको थियो। पहिलोपटक श्रीलंकाले उपाधि उचाल्दा अस्ट्रेलियालाई पराजित गरेको थियो।

त्यसपछिका पाँच खेलमा भने लगतार हार ब्यहोर्न श्रीलंका बाध्य भयो। श्रीलंका २००७ को फाइनलसमेत गुमाउन पुगेको थियो। त्यसैले पनि श्रीलंका विश्वकपमा पछिल्लो २४ वर्षयताको निरन्तर हारको यात्रालाई अन्त गर्न मैदानमा उत्रनेछ। यी दुई टिमबीच अहिलेसम्म कुल ९६ खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६० खेलमा जित निकाल्दा श्रीलंका ३२ खेलमा जित आत्मासाथ गर्न सफल भयो। ४ खेल नतिजाविहीन भएको छ ।

विश्वकपमा भने यी दुई टिमबीच १० पटक प्रतिष्पर्धा भएको छ। जसमा अस्ट्रेलियाले ७ पटक जित निकाल्दा २ पटक श्रीलंका विजयी भएको छ। १ खेल नतिजाविहीन भएको छ। शनिबार पनि उच्च फर्ममा रहेको अस्ट्रेलियालाई हराउनु श्रीलंकाका लागि लट्री पर्नु बराबर मानिएको छ। श्रीलंकाका लागि यो खेलमा जित अत्यावश्यक रहेको छ। श्रीलंका दुई खेल वर्षाका कारण गुमाउन पुग्दा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ। त्यसैले पनि सेमिफाइनलको आसलाई कायम राख्न उसले अस्ट्रेलियालाई पराजित गर्नु पर्नेछ।

तर, अस्ट्रेलिया भने भारतसँगमात्र पराजित भएको छ। शनिबार ओवल मैदानमा बर्षाको सम्‍भावना छ। यद्धपि दिउँसोमा मौसम सफा हुने आँकलन गरिएकाले खेल हुने संभावना बलियो छ। यस्तोमा टस जित्ने टिमले पहिले बलिङ गर्नु फाइदाजनक हुन्छ। यो पिचमा तिब्र बलरलाई फाइदा पुग्ने संभावना छ।

अस्ट्रेलियाको बलिङ आक्रमण पनि ठीकठाक छ । केवल एउटै कमजोरी स्पिन विभागमा देखिन्छ । एडम जाम्पाको प्रदर्शन एकरूप हुन सकिरहेको छैन र पछिल्लो खेलमा उनी प्लेइङ सेटमा थिएनन् । जाम्पाको अनुपस्थितिमा ग्लेन म्याक्सवेलले स्पिन आक्रमण सम्हालेका थिए । उनी पनि बलिङमा महँगो बने । आरोन फिन्चको बायाँहाते स्पिनले विकेट निस्कियो । अस्ट्रेलियालाई यो पनि थाहा छ कि विश्वकपजस्तो प्रतियोगितामा उ पार्ट टाइम बलरमा भर पर्नु हुँदैन । सायद नाथान लायनले ओभलमा स्पिन आक्रमणको नेतृत्व गर्नेछन् ।

श्रीलंका अहिलेसम्म एक जित र दुई वर्षाले बिथोलिएको खेलका साथ अंकतालिकाको पाँचौं स्थानमा छ । सुरुआती दुई पूर्ण खेलमा श्रीलंकाले ब्याटिङ, बलिङ र फिल्डिङमा उल्लेख्य आकर्षण देखाउन सकेन । अस्ट्रेलियाविरुद्धको ठोष प्रदर्शन उसको बारेमा धारणा बदलिदिने अवसर पनि हुन सक्छ ।

सुरुआती २ खेलमा १ सय ३६ र २ सय १ को स्कोरमा अलआउट भएको श्रीलंकाली ब्याटिङपंक्तिमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले रन बनाइरहेका छन् । उसलाई अधिक योगदानकर्ताको आवश्यक छ । साथै तीव्र स्कोर बनाउने ब्याट्सम्यान पनि खडकिएको छ । ओभलको मौसम शनिबार बदली हुने पूर्वानुमान छ । जुनसुकै समयमा बादल र वर्षाको सम्भावना पनि छ । पिच ब्याट्सम्यानहरूका लागि उपयुक्त हुनेछ ।