एमाले सभामुखविरुद्ध गए गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने ! - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

एमाले सभामुखविरुद्ध गए गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने !



सत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ ।

आज अध्यक्ष केपी शर्मा ओलीले सचिवालय र संसदीय दलको अकस्मात बैठक बोलाएका छन् । बैठकमा काउन्टर महाभियोगको छलफल चल्ने एमालेका एक सांसदले जनाए ।

सभामुख प्रतिनिधि सभाको दोस्रो विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा तत्कालीन संवैधानिक इजलासमा रहेका थप ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्नुपर्ने मत एमालेमा बलियो बन्दै गएको हो ।

यसबारे हिमालपोस्टले माओवादी केन्द्रका एक प्रभावशाली नेतालाई प्रश्न गरेको थियो । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हामीले पनि हातमा दही जमाएर बसेका छैनौं । एमाले सभामुखविरुद्ध जान्छ भने गठबन्धनले पनि राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेश गर्न सक्छ ।’

महाभियोग प्रकरणले सत्तापक्ष र प्रतिपक्षी दलबीच दूरी बढाएको छ । एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले नै महाभियोगको सिलसिला शुरू गरेको आरोप लगाएका छन् भने एमालेले पनि त्यसको जवाफ दिने बताएका छन् ।