स्पेनका प्रशिक्षकले राजीनामा दिनुको कारण यस्तो पो रहेछ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्पेनका प्रशिक्षकले राजीनामा दिनुको कारण यस्तो पो रहेछ



रुसमा जारी विश्वकपमा स्पेनको प्रशिक्षकको भूमिकामा रहेका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन् । स्पेन रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । उसलाई घरेलु टोली रुसले अन्तिम १६ को खेलमा टाइब्रेकरमा निराश पारेको थियो ।

हिइरो विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्रै स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि उनी स्पेनिस टिमको स्पोर्टिङ्ग डाइरेक्टर थिए । तत्कालीन प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएपछि हिइरोलाई स्पेनिस फुटबल फेडेरेशनले अस्थायी प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।

सन् २०१० को विश्व विजेता स्पेन घर फर्किएपछि हिइरोले राजीनामा दिएका हुन् । ५० वर्षका हिइरो नयाँ सम्भावनाको खोजी गर्ने निर्णयमा पुगेको स्पेनिस फुटबल फेडेरेशन, आरएफइएफले जनाएको छ ।

रियल मड्रिडका पूर्व खेलाडी हिइरो आफ्नो पूर्व जिम्मेवारी, स्पोर्टिङ्ग डाइरेक्टरमा फर्किन नचाहेको आरएफइएफले जनाएको छ । उनी नयाँ व्यवसायिक चुनौती लिन तयार रहेको देखिएको छ ।

विश्वकपमा स्पेनको खेल सुरु हुनु भन्दा दुई दिनअघि लोपेतेगी बर्खास्त भएका थिए । उनले आएफइएफसँग सल्लाह नै नगरी विश्वकप पछि रियल मड्रिडमा प्रशिक्षकको भूमिका खेल्ने गरी सहमति गरेको कुरा सार्वजनिक भयो । त्यसपछि उनी बर्खास्तमा परे ।