स्पेनको अवस्था थप सुधार हुँदै - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

स्पेनको अवस्था थप सुधार हुँदै



काठमाडौं – स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ ।

सोमबार स्पेनमा कोभिड–१९ का कारण ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ ।

सोमबार लगातार चौथो दिन मृत्यु हुनेको संख्या घरेको र पछिल्लो १३ दिन यताकै सबै भन्दा कम व्यक्तिको ज्यान गएको हो ।

योसँगै देशमा महामारी अब बिस्तारै कम हुने तर्फ लागेको आश गरिएको छ ।

स्पेनमा कोभिड–१९ बाट मृत्यु हुनेको कुलसंख्या १३ हजार ३४१ रहेको छ । स्पेनमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ३६ हजार ६७५ रहेको छ ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको इटालीमा सोमबार मृत्यु हुनेको संख्या अघिल्ला दिनको तुलनामा केही बढेको छ ।

सोमबार कोभिड–१९ बाट ६३६ जनाको मृत्यु भएको इटाली सरकारले जनाएको छ ।

यो संख्या आइतबारको भन्दा १११ ले बढी हो । आइतबार मार्च १९ यता इटालीमा सबैभन्दा कम मानिसको मृत्यु भएको थियो । तर सोमबार मृत्यु हुनेको संख्या शनिबारको भन्दा कम हो ।

इटालीमा अहिलेसम्म १६ हजार ५२३ जनाको कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । नयाँ संक्रमणको दर इटालीमा लगातार कम हुँदै गएको छ ।

अहिलेसम्म इटालीमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार ५४७ रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर अहिलेसम्म ७४ हजार ६३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५० हजार भन्दा बढी युरोपका छन् ।

इटाली र स्पेनपछि युरोपको सबैभन्दा बढी प्रभावित देश फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ ।

यस्तै बेलायतमा पाँच हजार ३७३, जर्मनीमा १८ सय १०, बेल्जियममा १६ सय ३२ तथा नेदरल्याण्डमा १८ सय ६७ जनाको मृत्यु भएको छ ।

विश्वभर कुल संक्रमितको संख्या १३ लाख ४४ जहार भन्दा बढी पुगेको छ । अहिलेसम्म दुई लाख ७८ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।