सोती घटना: प्रतिवादी पक्षका ४ वकिलको बहस सकियो, २७ जना निर्दोष रहेको जिकिर - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सोती घटना: प्रतिवादी पक्षका ४ वकिलको बहस सकियो, २७ जना निर्दोष रहेको जिकिर



रुकुम पश्चिम/संवाददाता
सोती चौरजहारी घटनामा रुकुम अदालतमा आज प्रतिवादी पक्षका ४ जना कानुनव्यवसायीले बहस गरेका छन । बिहान ११ बजेदेखि सुरू भएको बहस साझ ४ बजे सकिएको थियो ।

आज अधिवक्ताहरू रत्नबहादुर खड्का, लक्ष्मी नानी थापा, रचना मल्ल र भुवनेश्वर उपाध्यायले सबै २७ जना प्रतिवादीहरु नै निर्दोष रहेको भन्दै साधारण तारेखमा छाड्न अनुरोध सहित बहस गरेका छन । अधिवक्ता खड्काले घटनामा जातिय विभेद हुँदै नभएको उल्लेख गरे।

अर्का अधिवक्ता थापाले मुद्दा नै बनावटी रुपमा अदालतमा पेश गरेको बिषयमा जोड दिए । त्यसैगरी अधिवक्ता मल्लले महिलामाथि नै अन्याय भएको कुरा प्रस्तुत गरे । बहसकै क्रममा अधिवक्ता उपाध्यायले थुनामा राख्दा निर्दोषमाथि अन्याय हुने भएकाले साधारण तारेखमा छाडी कारबाही अगाडि बढाउनु पर्नेमा केन्द्रित भए ।

भोलि प्रतिवादी पक्षका अन्य कानुनव्यवसायीले बहस गर्ने

वादी जाहेरवालाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु डा. नवराज गौतम, दिनेश त्रिपाठी र हरिप्रसाद सुबेदी त्यसैगरी अधिवक्ताहरु बिकाश बस्नेत,ओमप्रकाश अर्याल, त्रीलोचन्द्र बि क,
मोहन साशंकर, बद्रीप्रसाद भुसाल, श्यामकुमार बिक, राम शर्मा, इन्द्र अर्याल, पुस्पराज पौडेल, रामचन्द्र आरसी गौतम, प्रकाश नेपाली, गोपिलाल देवकोटा, सुन्दर सेनि, दिपक भट्टराई, तेजेन्द्र पाण्डेय, मनिशा रोकाया र यमकुमारी ददेलले सोमबार नै बहस गरिसकेका छन ।

साथै जाहेरवालाको पक्षमा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता ध्रुवमणी ज्ञवाली, उच्च सरकारी वकिल कार्यालय दाङ्ग तुल्सिपुरका सहन्यायाधिवक्ता राजनराज घिमिरे , जिल्ला सरकारी वकिल कार्यालय दाङ्गका जिल्ला न्यायाधिबक्ता सुशिल देवकोटा, जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता केशवराज चपाइ र सहायक जिल्ला न्यायाधिवक्ता बिनोद पौडेलले बहस गरेका छन । प्रतिवादी पक्षको बहसपछि अदालतले पुर्पक्षका लागि के गर्ने भन्ने बिषयमा आदेश गर्नेछ ।

जेठ १० गते भयको उक्त घटनामा ६ जनाको निधन भएको थियो भने १२ जना घाइते भएका थिए । उक्त मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुतको कसुर उल्लेख गरी जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो । २ जना पुर्पक्षका लागि सुधार गृहमा पठाइएको छ भने ५ जना हालसम्म फरार छन ।