सोमवार पनि सार्वजनिक विदा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

सोमवार पनि सार्वजनिक विदा



काठमाडौँ – बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन्।

कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्घ धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने गरिएको छ।

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ।

उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ। बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्छ।

त्यस्तै, यही कात्तिक २९ गते परेको हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगर उपप्रमुख सुशीला अधिकारीले बताइन्।

नगरपालिकाभित्र रहेको नेपालको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचंगुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकाले स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने बताइएको छ।

प्यागोडा शैलीमा बनेको दुईतले इचंगुनारायण मन्दिरमा शंख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति छ। उक्त मन्दिरमा हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने गर्छ।