आजको सुर्य ग्रहण: हल्लाको पछि नलागौँ, यस्ता छन् वैज्ञानिक तथ्य - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

आजको सुर्य ग्रहण: हल्लाको पछि नलागौँ, यस्ता छन् वैज्ञानिक तथ्य



काठमाडौं- आज असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । यो ग्रहणले विश्वभरि नै सकारात्मक रहने अनुमान गरिएको छ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।

विज्ञानले के भन्छ ?

वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन्।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन्।

क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको वर्षा भइरहन्छ । अमेरिकास्थित नासाले भनेको छ, ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्‍यादैन।’

नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानी नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदासमेत कुनै असर पर्दैन । पूर्ण सूर्य ग्रहणको समय कोरोनाबाट प्रकाशका रूपमा निस्किने विद्युत् चुम्बकीय विकिरण सुरक्षित रहेको नासाले जनाएको छ।

नेत्ररोग विशेषज्ञहरूले ग्रहण लागेको सूर्यलाई नांगो आँखाले नहेर्न सुझाव दिएका छन् । ‘निरन्तर हेर्दा फोटो रेटिनाइटिस अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ, ग्रहण हेर्नुपरे विशेष प्रकारको ग्लास प्रयोग गर्दा उत्तम।’

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार ग्रहणको समयमा मानिसमा पर्ने प्रभावबारे कुनै वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन।

विज्ञका अनुसार, ग्रहणलाई नांगो आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर हेर्नु हुँदैन । हिमालय आरोहणमा प्रयोग हुने विशेष प्रकारको गाढा रङको धातु लेपन गरिएको चस्माबाट मात्रै अवलोकन गर्न उपयुक्त हुन्छ।

तर, ज्योतिषशास्त्र र पञ्चाङ्गले भने विज्ञानले प्रमाणित गरेभन्दा फरक दाबी गरिएको छ । जसका कारण मानिसहरूमा त्रास, भ्रम र डर पैदा गर्ने देखिएको छ ।

के भन्छ ज्योतिषशास्त्र ?

उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।

आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ । उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ । गत वर्ष पुस महिनामा लागेको खण्डग्रास सूर्यग्रहण भन्दा ठीक विपरीत तरिकाबाट लागेकाले पनि यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने अनुमान गरिएको हो ।

मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाब पार्ने बताइन्छ । यधपी यसलाई विज्ञानले भने पुष्टि गरेको छैन । ज्योतिष शास्त्रका अनुसार वृष, मिथुन, बृश्चिक र मीन राशिका जातक हरुका लागि ग्रहणको प्रभाव उच्च रहने बताइएको छ भने कर्कट, तुला, धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहने बताईन्छ ।

मेष, सिंह, कन्या तथा मकर राशि हुनेका लागि भने शुभ रहने बताइएको छ । पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका जातकले ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशि हुनेका लागि लाभ र कन्या तथा मकर राशिका जातकका लागि सुख प्राप्ति हुने बताइएको छ ।

पञ्चाङ्ग अनुसार असुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलोकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ। यो ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चार ओटा राशि अर्थात २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारको हानि नहुने ज्योतिष बताउँछन् ।

धार्मिक नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ।

ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्ठि भैसकेको छ ।

खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्योतिष तथा खगोलविद्हरुले ऐतिहासिक ग्रहण भनेर जानकारी गराएका छन । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ ।

यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेषगरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने बताइएको छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पश्चिमी क्षेत्रमा उच्च प्रभाव पर्ने अनुमान गरिएको छ ।

ग्रहको अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्तो समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेको छ । गत वर्ष पुस १० गते लागेको ग्रहण पनि दुर्लभ भनेर भनिएको थियो । उक्त समयमा पनि ६ ओटा ग्रह एकैसाथ धनु राशिमा बसेको अवस्थामा लागेको थियो यसको प्रभाव पूरा विश्वभरिनै परिरहेको छ ।

आइतवार लाग्ने ग्रहणले पनि विशेषगरी महामारी, चोरी डकैती विपरीत बुद्धि हुने भनेर भनिएको छ । बुध व्यापारसँग सम्बन्धित रहेकाले राहु चन्द्रमा र सूर्यसँग सँगै बसेकाले पनि व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रहरुमा यसको उच्च प्रभाव रहने अनुमान गरिएको छ । हवाई दुर्घटना तथा भुकम्प जानसक्ने सम्भावना पनि विगतमा लागेका ग्रहको अनुसन्धानका क्रममा अनुमान गरिएको छ ।

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चार हजार वर्षपूर्व नै भएको कुरा वेदमा उल्लेख छ । ऋग्वेदमा भनिएको छ, ‘अत्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।

पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप रहस्य पत्ता लगाउँदै ग्रहणको आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर । ग्रहणको समयमा सूर्यबाट आउने किरणमा नकारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यसकारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हो ।

वैज्ञानिक तथा खगोलविद्हरुले यस्ता किसिमका खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका हेर्ने गर्दछन् । खगोल सम्बन्धि अध्ययन गर्नका लागि ग्रहणको समय अति उपयोगी हुने गरेको छ । ऋषि महर्षीहरुले हजारौं वर्ष पहिल्यै खाली आँखाले रातको समयमा देखिने तारा तथा नक्षत्रलाई गणना गरेर पत्ता लगाएको खगोल विज्ञानलाई आधुनिक विज्ञानले अर्बौं डलर खर्च गरिसकेका छन् ।

पृथ्वीले आफ्नो अरविटमा नित्य रुपमा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ । चन्द्रमाले पनि पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ । पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४ प्रतिशत मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरका हुन्छौं ।

परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्यभागमा आउँदछ या एउटै लाईनमा पर्दछ यस्तो अवस्था लाई न्यूमुन अर्थात् अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाले सूर्यको प्रकाशलाई पूर्णरूपमा पृथ्वीमा आउन अवरोध गर्दछ र राहु तथा केतुको पनि पूर्ण छाया परेको अवस्थामा पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो । यहीँ ग्रहण अन्य देशबाट फरक तरिकाले पनि देख्न सकिन्छ ।

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था बन्दछ । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अबस्थामा राहु या केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । सामान्यतया चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण तथा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्दछ ।

धर्मग्रन्थ अनुसार ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कमगर्ने शास्त्रमा उल्लेख गरिएको छ । यो ग्रहणमा शिव तथा कालीको साधना बहु उपयोगी हुने उल्लेख गरिएको छ । यस्तो समयमा गरिएको शुभ कर्महरु अन्य समयमा गरिएको भन्दा १०८ गुणाले बढिहुने शास्त्रमा उल्लेख गरिएको छ ।

तर ज्योतिषशास्त्र तथा पञ्चाङ्गमा गरिएका यस्ता अनेक दाबीहरू विज्ञानले प्रमाणित भने गरेको छैन ।