फेसबुक, ट्वीटर र युट्युबमा ‘बुस्ट’ गर्न सरकारद्वारा प्रतिबन्ध
अब फेसबुक, ट्वीटर र युट्युबमा पोस्ट बुस्ट गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कडाइ गरेपछि यसलाई गैरकानुनि बनाइएको हो ।
सामाजिक सञ्जालमा हुने विज्ञापनमा विदेशी मुद्रामा अवैधानिक च्यानलमार्फत भुक्तानी हुने भन्दै विदेशी विनिमय व्यवस्था विभागले यस्तो भुक्तानी नगर्न सचेत गराएको छ ।
विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबाट विदेशमा गैरकानूनी रकम पठाउने काम रोकिने बताएका हुन् ।
‘सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानूनी हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता कारोवारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानून बमोजिम कारवाही हुने विज्ञप्तिमा बताइएको छ ।
यसबाट फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा पोस्ट स्पोन्सर गर्न नपाइने भएको छ ।