सोचेजस्तो गर्न सकिएन : प्रदेश ७ मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सोचेजस्तो गर्न सकिएन : प्रदेश ७ मुख्यमन्त्री भट्ट



प्रदेश सरकारका १०० दिन
कान्तिपुर : धनगढी । प्रदेश सरकार गठन भएको सय दिन पुरा हुँदा मुख्यमन्त्री त्रिलोचन भट्टले सुरुमा सोचेजस्तो कामगर्न नसकिएको स्वीकार गर्दै संघीयताको जग बसाल्न भने सफल भएको दाबी गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार धनगढीमा सरकारले सय दिनमा गरेका कार्यको जानकारी गराएको छ ।

सरकार गठनको सुरुका तीन महिनाको अवधि भौतिक तथा कर्मचारी व्यवस्थापनमै गुज्रेको जिकिर गर्दै मुख्यमन्त्री भट्टले भने, ‘पूर्वाधार व्यवस्थापन, कर्मचारी व्यवस्थापनलगायतका झमेलाहरूले च्याप्यो ।’

नागरिकहरूले प्रदेश सरकारप्रति सुरुमा जुन अपेक्षा थियो त्यो पूरा हुन नसकेको बताएका छन् । कानुन निर्माण सरकारको पहिलो प्राथमिकता भएकाले यस अवधिमा तीनवटा ऐन पारित गरेको सरकारले बताएको छ । आर्थिक कार्यविधि ऐन, विनियोजन ऐन ०७५ र प्रदेशसभा नियमावली निर्माण गरिएको मुख्यमन्त्री भट्टले बताए ।

यस्तै स्थानीय तहको कानुन निर्माणगर्ने प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५, सार्वजनिक लिखत प्रमाणीकरण गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधासम्बन्धी विधेयक प्रदेशसभामा प्रवेश गराएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले सरकारका सय दिनमा भए गरेका उलपब्धि सार्वजनिक गर्दै फोहोरमैला व्यवस्थापन, ट्राफिक नियमन, हेलो सीएम कार्यक्रम सञ्चालन कार्यलाई प्रदेश सरकारले उपलब्धि भएको चर्चा गरे । ‘स्वास्थ्य सेवाको पअस्पताल र औषधि नियमन, मुख्य न्यायाधिवक्ताको चयन र नियुक्ति गर्यौं,’ प्रवक्ता शाहले भने ‘जनताले अनुभूति गर्ने योजनाका साथ कतिपय कामहरू तत्काल अघि बढाउँदै छौं ।’ सरकारले प्रतिपक्षी दलको सहयोगी भूमिकाको भने खुलेरै प्रशंसा गरेको छ ।

सरकारका सय दिन गतिहीन : प्रतिपक्ष

सरकारका सय दिनका अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका सय दिन गतिहीन भएको प्रतिक्रिया दिएको छ ।

सरकारले सय दिनका गतिविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपस्थित प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले सरकार गतिहीन भएको प्रतिक्रिया दिए । ‘प्रतिपक्षले सहयात्रीको भूमिका निर्वाह गर्दा पनि सरकारले कुनै गति लिन सकेन,’ डा रावलले भने ‘प्रदेशमा सरकार गठन भएको छ भन्ने सामान्य अनुभूति पनि जनताले गर्न सकेका छैनन् ।’

सरकारले संसद्मा ल्याएको बजेट वितरणमुखी हँुंदाहुंँदै पनि प्रतिपक्षले कुनै अवरोध खडा गरेन रावलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै भने, ‘संसद,मा आएका विधेयकमा पनि प्रतिपक्षले असहयोग गरेन तर कुनै पनि उपलब्धि सरकारले हासिल गर्न सकेन ।’ यही स्थितिमा प्रतिपक्ष चुप लागेर बस्नेवाला छैन उनले भने, ‘अबका दिनमा सरकारलाई गतिशील बनाउनका लागि पनि प्रतिपक्ष सशक्त भूमिकामा देखिनेछ ।’कान्तिपुरमा खबर छ ।