तपाईंको फोन सक्कली कि नक्कली ? यसरी चेक गर्नुहोस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तपाईंको फोन सक्कली कि नक्कली ? यसरी चेक गर्नुहोस



अहिले अन्य फोनका तुलनामा स्मार्टफोनको लोकप्रियता निकै बढी छ । सुलभ मूल्यमा अत्याधुनिक सुविधासहितका फोन उपलब्ध हुनु यसको कारण हो । बजारमा बढ्दो मागसँगै दिनदिनै नयाँ नयाँ मोडल र विशेषता भएका स्मार्टफोन सार्वजनिक हुँदै गएका छन् । प्रतिस्पर्धी बजारको नकारात्मक पक्ष, मानौं– लोकप्रिय ब्राण्डको नक्कली मोडलसमेत बजारमा भित्रने गरेको छ । झट्ट हेर्दा दुरुस्त देखिए पनि ‘ओरिजिनल’का तुलनामा कुनै न कुनै पक्षमा यसको कमजोरी अवश्य हुन्छ । यस्ता फोन किनेमा उपभोक्तालाई ठूलै समस्या पर्न सक्छ । त्यसैले, फोन सक्कली हो वा नक्कली पहिचान गर्न सघाउने केही उपाय यहाँ प्रस्तुत गरिएको छ :

फोनका बारेमा विस्तृत जानकारी दिने विभिन्न वेबसाइटहरू छन् । तीमध्ये जीएसएमएरिना डटकमलाई धेरैले विश्वास गर्छन् । यस्तै कुनै वेबसाइट वा जीएसएमएरिनामा गएर आफूले किन्न चाहेको फोनको मोडल नम्बर लेख्नुहोस् । यति गरेपछि त्यहाँ फोनका बारेमा विस्तृत जानकारी प्रस्तुत हुन्छ । बजारमा जानुपूर्व फोनका बारेमा आवश्यक जानकारी बटुल्नु फाइदाजनक हुन्छ । यसो गर्दा फोनमा पाइने फिचर्स, तिनको मूल्य, विशेषतालगायत बारेमा समेत राम्रो जानकारी पाउन गर्न सकिन्छ, जुन फोन खरीद गर्दा विशेष उपयोगी हुन्छन् ।

फोन खरीद गर्दा स्मार्टफोनको मोडल नम्बर, सञ्चालन प्रणाली (ओएस)को भर्शन, ब्रोडब्याण्ड भर्शनलगायतका बारेमा राम्रो जानकारी लिनु आवश्यक हुन्छ । एण्ड्रोइड स्मार्टफोनको सेटिङमा गएर ‘अबाउट फोन’को छनोट गर्दा फोनका बारेमा अधिकांश जानकारी स्वतः प्रस्तुत हुन्छन् ।

आईफोनमा भने सेटिङमा गएर ‘जनरल’ छनोट गर्दै ‘अबाउट’ अप्सन सेलेक्ट गर्दा यी जानकारी प्रस्तुत हुन्छन् । यो मेन्यूमा उपकरणको नम्बर र ब्रोडब्याण्ड नम्बरसमेत प्रस्तुत हुन्छ । यसपछि फोनको रिसर्च गर्दा टिपेका जानकारीसँग यी सबै मिल्छ वा मिल्दैन भन्ने जाँच्नुहोस् ।

स्मार्टफोनको आईएमईआई नम्बर पनि अबाउट वा अबाउट फोन मेन्यूमा दिइएको हुन्छ । हरेक मोबाइल फोनका लागि विशिष्ट आईएमईआई नम्बर हुने गर्छ । यसरी प्रस्तुत हुने आईएमईआई नम्बर वेबसाइटमा हालेर फोन ओरिजिनल हो वा नक्कली भन्ने जानकारी लिन सकिन्छ । यसरी वेबसाइटमा आईएमईआई नम्बर हाल्दा गलत रहेको पाइएमा फोन नक्कली वा चोरीको हुने सम्भावना रहन्छ । यसो भएमा फोनको खरीद नगर्नु नै राम्रो हुन्छ । (एजेन्सी)