स्मार्ट फोनको अन्त्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्मार्ट फोनको अन्त्य



अहिलेको दैनिक जीवनमा स्मार्टफोन हाम्रो अभिन्न अङ्ग नै बनेको छ । हरेक गतिविधिमा कुनै न कुनै रूपमा सघाउने यो हाते उपकरणको अन्त्यबारे मानिसले अहिले नै सोचेका नहोलान् । तर, प्रविधिविद् तथा वैज्ञानिकहरूबीच भने यसको विकल्पबारे बहस शुरू भइसकेको छ ।

एप्पल, सामसुङलगायत पहिलो श्रेणीका उत्पादकहरूले उपभोक्ताका लागि नयाँ नयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहेका छन् । यद्यपि, पछिल्लो समय स्मार्टफोनको विक्री घट्न थालेको विभिन्न तथ्याङ्कले देखाएका छन् । विश्वका ठूला स्मार्टफोन बजारमा यी उत्पादनको मागमा कमी आएको छ ।

स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ । तर, कतिपय विश्लेषकहरूले स्मार्टफोनलाई अन्य कुनै बिल्कुल भिन्न उपकरणले विस्थापित गर्ने सम्भावना औंल्याएका छन् ।

फ्युचर टुडे इन्ष्टिच्युटका संस्थापक आमी वेबले प्रविधिको परिवर्तनशील झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको शुरुआत गर्ने उल्लेख गरेका छन् । उनले अबको युगमा यी उपकरण आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्नेछन् ।

‘स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउन योग्य वस्तु) र अदृश्य इण्टरफेसतर्फको रूपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुरामा आमूल परिवर्तन ल्याउनेछ । जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरू रेकर्ड गर्ने र देखाउने काम गर्नेछ,’ वेबले भनेका छन् ।

यद्यपि, अन्य कतिपय विश्लेषकहरूले बजारमा केही कमी आए पनि स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन् । ‘स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रूपमा परिवर्तन हुन सक्छ,’ एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्विनले भनेका छन्, ‘स्मार्टफोनको बजार अझै केही वर्ष यथावत् रहनेछ ।’

म्याकक्विनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताएका छन् । उनका अनुसार यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा (आर्टिफिसियल इण्टेलिजेन्स) तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको छ । नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै– अनुहार चिन्ने । साथै, मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयास पनि गरिएका छन् ।

एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी ५–६ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन् । नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ ।

आईडीसी अनुसन्धान कम्पनीका अनुसार विश्वमा सन् २०१८ मा स्मार्टफोनको विक्री शून्य दशमलव ७ प्रतिशत घटेर करीब १ अर्ब ४५ लाख थान विक्री भएको थियो । आईडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक विक्री करीब १ अर्ब ६४ करोड पुग्ने बताएको छ ।

‘हाम्रो विचारमा आगामी वर्षमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ,’ आईडीसीका विश्लेषक रायन रेथले बताए ।

संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरूले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन भएको पिउ रिसर्च सेण्टरले बताएको छ । यूरोपमा सन् २०१७ को अन्त्यसम्ममा करीब ४६ करोड ५० लाख मानिससँग मोबाइल फोन छ । यो कुल जनसङ्ख्याको करीब ८५ प्रतिशत हो । यी मोबाइलमध्ये २ तिहाई स्मार्टफोन नै छन् ।

टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको विक्री घटेको बताए । ‘मानिसले करीअरको निर्भरता छाडेर सोझै बजारबाट मोबाइल खरीद गर्न थालेकाले त्यस्ता मोबाइलको प्रयोग उनीहरूले लामो अवधिसम्म गर्न थालेका छन्,’ उनले भनेका छन् ।

ओ–डोन्नेलका अनुसार सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल विक्री बढ्न सक्ने बताए । ‘मानिसले केही समयदेखि फोल्ड गर्न मिल्ने स्क्रिनका कुरा गरिरहेका थिए,’ उनले भने, ‘अर्को वर्ष यस्ता फोन बजारमा आउने सम्भावना बढेको छ ।’ स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रूपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास उनले व्यक्त गरे । एजेन्सी