तालिबान अमेरिकासँग सम्झौता गरेको इस्लामिक स्टेटको दाबी
एजेन्सी- आफूलाई ‘इस्लामिक राज्य’ (आइएस) दाबी गर्दै आएको एउटा उग्रवादी संगठगनले अफगानिस्तानमा तालिबानले जितेको नभइ अमेरिकाले उनीहरूलाई देशको नेतृत्व सुम्पेको दाबी गरेको छ।
आफ्नो एउटा साप्ताहिक मुखपत्रमा उसले भनेको छ- यो कुनै एक अमुक संगठनको जित हुनसक्छ। इस्लामको होइन। यो एउटा सम्झौताको जित हो न कि, कुनै लडाईंको।’
उसले आगामी युद्धको नयाँ चरणमा तयारी भइरहेको पनि बताएको छ।
इस्लामिक स्टेटका समर्थकहरूले यसअघि नै तालिबानीहरूले अमेरिकाको खराब कामहरूलाई पनि साथ दिएको आरोप लगाउँदै आएका छन्।
अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थितिलाई कमजोर बनाउनका लागि तालिबानीहरूको ठूलो भूमिका छ। खासगरी २०१९मा इस्लामिक स्टेटका विरुद्ध तालिबान, अमेरिका तथा अफगानी सुरक्षा बलहरूले एउटा संयुक्त मोर्चा नै खडा गरेका थिए। जसले गर्दा पूर्वी अफगानमा आइएसले आफ्नो आधार इलाका नै गुमाउनु परेको थियो।
त्यसपछि आइएसले अमेरिकासँग मिलिभगतमा काम गरेको आरोप तालिबानीमाथि लगाउँदै आएको छ।
त्यसअघि २०१५मा यी दुबै गुटले एकअर्काविरुद्ध युद्धकै घोषणासमेत गरेका थिए। त्यो बेला इस्लामिक स्टेटले आफ्नो ‘खुरासन शाखा’ पनि गठन गरेको थियो। जसलाई अफगानिस्तान, पाकिस्तान, इरान तथा मध्य एशियाका केही ठाउँमा पनि चिनिएको थियो।
विश्वलाई इस्लामिक बनाउनका लागि युद्ध छेडेका इस्लामिक स्टेट एक आतंकवादी संगठनको सूचीमा छ।