यी ६ जिल्ला कोरोना सङ्क्रमणको ‘डेन्जर जोन’मा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

यी ६ जिल्ला कोरोना सङ्क्रमणको ‘डेन्जर जोन’मा



काठमाडौँ- कोरोनाभाइरसको सङ्क्रमण तीव्र भएसँगै ‘रेड जोन’ मा परेका जिल्लाको सङ्ख्या पनि ६ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्काका तीन र उपत्यका बाहिरका तीन जिल्लामा सङ्क्रमण तीव्र फैलिन थालेको छ। जहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी पुगेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ। शुक्रबार काठमाडौंमा एक हजार ९१३, ललितपुरमा ३७७, भक्तपुरमा ३१७, मोरङमा २४०, सुनसरीमा १४१ र कास्कीमा १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

योसँगै काठमाडौं उपत्यकामा दुई हजार ६०३ सङ्क्रमित थपिएका छन्। अब सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा सात हजार ६२५, ललितपुरमा एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ पुगेको छ।

त्यस्तै, दुई सयभन्दा सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पनि सात पुगेको छ। झापा, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), बाँके, रुपन्देही र कैलालीमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ। बिहीबारसम्म मुगुमा सङ्क्रमण देखिएको थिएन भने आज सङ्क्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर पाँच हजार ८७ जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै, कोरोनाबाट तीन जनाले ज्यान गुमाएका छन्।