सिटौलाले कार्यकर्ताहरुलाई भने : कम्युनिष्ट अधिनायकवादसँग लडौं - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सिटौलाले कार्यकर्ताहरुलाई भने : कम्युनिष्ट अधिनायकवादसँग लडौं



काठमाडौं । १३औं महाधिवेशनपछि नेपाली कांग्रेस भित्र तेस्रो धारका रुपमा आफूलाई स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले भातृसंगठन तथा सुभेच्छुक संगठनका आफू निकट नेताहरुलाई पार्टीको साख बचाउनका लागि अझ क्रियासिल भएर लाग्न निर्देशन दिएका छन् ।

आइतबार आफ्नै निवास धुम्बाराहीमा नेपाल विद्यार्थी संघ, महिला संघ सहित नेपाल ट्रेड युनियनको वर्तमान नेतृत्व तथा निवर्तमान भएकाहरुलाई बोलाएर पार्टीको साख बचाउने गरि संगठन बिस्तार गर्न देशभर सक्रिय हुन निर्देशन दिएका हुन ।

‘पार्टी भित्रका समस्यासँग लड्दै गरौंला, पार्टी भन्दा बाहिर पनि कम्युनिष्ट अधिनायकवादी शक्तिसँग लड्नु पर्ने अवस्था छ, तपाईहरु जिल्ला जिल्लामा कार्यक्रम लिएर जानुस, कांग्रेसका लागि अब अघि बढ्नुस,’ नेता सिटौलाले भने।

सिटौलाले कांग्रेस भित्र आफ्नो समूह शशक्त रहेको र झन शशक्त हुँदै गएकाले दृढ इच्छाशक्ति सहित उच्च मनोवलका साथ कार्यकर्तामा उत्साह जगाउन आग्रह गरे।

‘१३ औं महाधिवेशन पछि स्थापित भएको हाम्रो समूहको अवस्था तपाइ सबैलाई थाहा नै छ, हामी झन शशक्त हुँदैछौं अब कांग्रेसलाई पनि शशक्त बनाउनु पर्छ,’ उनले सम्बोधनका क्रममा भने ।

नेता सिटौलाले नेविसंघ आबद्ध विद्यार्थीहरुलाई कुनै पदमा नरहँदा पनि काम गर्न सकिने भन्दै हौसलाका साथ अनुशासनको दायरामा रहेर काम गरेर देखाउन आग्रह गरे ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले पार्टीले बनाएको विधानमा मजदुरका पक्षलाई बेवास्ता गरिएको भन्दै देशभर छरिएर रहेका मजदुरको शक्तिलाई कांग्रेसले पछ्याउन सक्नु पर्ने जनाए ।

‘भोट बैँकको रूपमा रहेका मजदुरलाई पार्टीले समेट्न नसकेकोमा दुःख लाग्छ, पार्टीले विधानमै मजदुरलाई समेट्छ जस्तो लागेको थियो तर भएन’ उनले भने ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफूहरु रहेको समितिले नै महाधिवेशन गर्ने सम्भावना हुँदाहुँदै पार्टीले विघटन गरेको भन्दै आउँने तदर्थ समितिले पनि महाधिवेशन गर्न नसक्ने ठोकुवा गरे ।

‘विधानअनुसार तदर्थ समितिले ६ महिनामा महाधिवेशन गर्नुपर्ने हुन्छ, त्यो सम्भावना छैन, पार्टी सभापति शेरबहादुर देउवा हुँदासम्म नेविसंघको महाधिवेशन हुँदैन ।’ उनले भने ।

नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले भने पार्टी नेतृत्वले विधानको उल्लंघन गरेर नेविसंघमा तदर्थ समिति बनाए आफूहरुले हेरेर नबस्ने भन्दै समानान्तर समिति बन्न सक्ने संकेत गरे ।

‘विधानको पालना हुनु पर्छ भन्ने हाम्रो माग हो, भएन भने हामी पनि आफ्नो तयारीमा छौं,’ उपाध्यक्ष अधिकारीले भने ।

कांग्रेसको शक्तिशाली र प्रमुख भ्रातृ संगठनहरुमा सिटौला समूह हावी छ।