सिरहाका नौं जनामा भेटिएन कोरोना संक्रमण

सिराहा- सिरहाबाट जनकपुर पठाइएका ९ जनालाई सामान्य उपचारपछि घर फर्काइएको छ ।
कोरोनाभाइरस संक्रमणको लक्षण देखिएपछि उनीहरूलाई सिराहाबाट प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।
सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमणको भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।
केही दिनअघि रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो ।
उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ ।
बिरामी भएका ९ जनामा देखिएको ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप उपचारका लागि जनकपुर पठाएको जानकी मेडिकल कलेजका डा.रामउदगार यादवले जानकारी दिए ।
यता प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारसहित परिक्षण गर्दा सामान्य रुघा खोकी र ज्वरो लागेको हुनाले सामान्य उपचार गरी औषधीहरु नियमतरुपमा सेवन गर्नका लागि भनेर घर फर्काइएको प्रादेशिक स्वास्थ्य विभागका निर्देशक डा.विजयकुमार झाले जानकारी दिए ।

