सिंहदरबारमा कोरोनाको त्रास: ९० प्रतिशत कर्मचारी घरमै
काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।
सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको खबर आजको राजधानी दैनिकले छापेको छ।
सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन्।
सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महत्पूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोनाबाट संक्रमण हुने क्रम बढेको हो।
सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी (वर्क फ्रम होम) व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमण बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन्।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडौंमा निषेधाज्ञ भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए।
‘अहिले त सिंहदरबारलाई समेत कोरोनाले घेरिसकेकाले धेरै कर्मचारी आउन छाडिसकेका छन्,’ प्रवक्ता पौडेलले भने । प्रधानमन्त्री कार्यालयका अनुसार शुक्रबार सिंहदरबारमा कार्यरतमध्ये झन्डै १० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा उपस्थित भएका थिए । शुक्रबार सिंहदरबार पूर्ण रूपमा सुनसान बन्न पुगेको थियो।