सिंहदरबार जानै छाडे देउवा
काठमाडौं। पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन् । तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन् ।
सामान्यतः सरकारका निर्णय प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय सिंहदरबारबाट गर्नुपर्ने मान्यता छ । बालुवाटार बैठकबारे कतिपय मन्त्रीले नै अनभिज्ञता जनाउन थालेका छन् । २१ पुसदेखि प्रधानमन्त्रीले लगातार मन्त्रिपरिषद्को बैठक बालुवाटारमै बसाउँदै आएका छन् ।
पूर्वमुख्यसचिव डा. विमल कोइराला सामान्यतः प्रधानमन्त्री बिरामी हुँदा वा तत्काल निर्णय गर्नुपर्दा मात्रै निवासमा बैठक राख्न सक्ने र अन्य समयमा सिंहदरबारमा राख्नुपर्ने बताउँछन् ।
पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमले अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रधानमन्त्रीले निवासमा बैठक राख्ने गरेको उदाहरण कहीँ पनि नभएको दाबी गरे । ‘विश्वमा यस्तो कहीँ पनि भएको छैन, हामीकहाँ यस्तो गाईजात्रा भइरहेको छ’, पूर्वमुख्यसचिव गौतमले भने । सञ्चारमन्त्री बस्नेतले दिउँसो जनताको काम गर्नुपर्ने भएकाले साँझको समयमा आफूहरूकै सुझावअनुसार प्रधानमन्त्रीले बालुवाटारमा बैठक राख्ने गरेको बताए ।